बीच बाटोमा हवन
नेपालगञ्ज – बीच बाटोमा हवन (पूजा) । धेरैले नपत्याउलान् । तर, सोमबार नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि बीच बाटोमा हवन गरिएको छ । सम्पत तिवारी र सुकदेव शर्माले मन्त्र उच्चारण गरेर विधि पुर्याइरहदा बाटो हिड्नेले अनौठो मानेर हेरिरहे ।
तर, त्यो हवनमा जो–जो सहभागी थिए, उनीहरु आक्रोशित थिए । उनीहरु थिए, करमोहनावासी । सरकारले करमोहनाको ८४ विगाह जमिन बागेश्वरी मन्दिरको रहेको र त्यो फिर्ता गर्ने बताएपछि करमोहनावासी आक्रोशितमात्रै छैनन्, निरन्तर सडकमा प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा सहभागी टीकानाथ योगीले, करमोहनाको ८४ विगाह बागेश्वरी मन्दिरको नभई व्यक्तिको भएकाले ग्रह कटाउनका लागि हवन गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयमा धर्ना र प्रदर्शन पछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि आइपुगेका करमोहनाबासीले हवनमात्रै गरेनन्, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणालाई टीका लगाइदिन र प्रसाद खुवाउन जोडबल नै गरे । उपमहानगरपालिका कार्यालयको मुख्यद्वारमा बसेर निरन्तर प्रदर्शन गरिरहेका करमोहनावासीलाई मेयर राणाले आएर सम्बोधन गर्नुभयो । मेयर राणाले व्यक्तिको जग्गा भएको प्रमाण लिएर छलफलमा आउन बारम्बार अनुरोध गर्नुभयो । राणाले दुई चार जना अगुवा प्रमाणसहित वार्तामा आउन अनुरोध गरेपछि आन्दोलनकारी प्रवेशद्वारबाट हटेका थिए । त्यसपछि उनीहरुको सोमबारको आन्दोलन समापन भएको थियो ।
करमोहनावासीले १९३३ देखि कर तिर्दै आएको बताइरहेका छन् । पहिला मालपोत कार्यालयमा बुझाउदै आएको कर मालपोतले भनेपछि बागेश्वरी मन्दिरलाई बुझाइरहेको उनीहरुको भनाई छ । कर बुझाउदै आफूहरुको जग्गा बागेश्वरी मन्दिरको नहुने उनीहरुको तर्क छ । सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले करमोहनाको ८४ विगाह मन्दिरको भएको र त्यो व्यक्तिमा गएको भन्दै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । मालपोत कार्यालय साविकको इन्द्रपुर ३ क अन्तर्गतको जग्गा रोक्का गरेको छ । सरकारी निर्णयको विरोधमा करमोहनावासीले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।