नवनिर्वाचितलाई बधाई तथा सम्मान

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सोमबार सम्मान गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) सहितका पदाधिकारी र सदस्यहरुलाई सम्मान सहित बधाईज्ञापन गरिएको हो । नगर प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललगायतले सम्मान सहित बधाई ज्ञापन गर्नुभयो ।
नगर प्रमुख राणाले उपमहानगरपालिका र संघबीचको सम्बन्ध सदैव सुमधुर हुनुपर्ने बताउनुभयो । ‘संघ र उपमहानगरपालिकाबीच निरन्तर सहकार्यको आवश्यकता छ, राणाले भन्नुभयो–कुनै विवाद आएमा छलफलका माध्यमबाट टुंगो लगाऊ ।’ उहाँले विगतदेखि नै संघसँग सहकार्य हुँदै आएको स्मरण गर्दै नयाँ कार्यसमितिसँग मिलेर अघि बढ्ने बताउनुभयो ।
उपप्रमुख उमा थापा मगरले संघसँग सहकार्य गरेर अघि बढ्ने नीति लिइएको जानकारी दिनुभयो । राजश्व परामर्श समितिमा संघको प्रतिनिधित्व हुने जानकारी दिदै उहाँले आगामी दिनमा पनि सहकार्य उत्तिकै आवश्यक भएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले संघ र स्थानीय सरकारबीचको सहकार्यबाट धेरै काम गर्न सकिने बताउनुभयो । कर रहरले तिर्ने वातावरण बनाउन हामी लागिपरेका छौं, रिजालले भन्नुभयो,– दुबै मिलेर स्थानीय उत्पादनको सम्वद्र्धन गर्न जरुरी छ ।’
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले स्थानीय सरकार र संघबीच नङ र मासुको सम्वन्ध रहेको बताउनुभयो । उद्योगी ब्यवसायीले हामीलाई उनीहरुको प्रतिनिधिको रुपमा पठाएका छन, अध्यक्ष मन्सुरीले भन्नुभयो,– हाम्रो प्राथमिकतामा उद्योगी र ब्यवसायी छन्, दोस्रो प्राथमिकता सामाजिक सेवा हो । मन्सुरीले उपमहानगरपालिकासँग संघको सम्बन्ध विगत भन्दा प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !