बन्दीले ग्यालरीसमेत भरिभराउ

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा बन्दीको चाप अत्याधिक बढेको छ । कतिसम्म भने ग्यालरीमासमेत बन्दीहरु सुत्ने गर्दछन् । दिउँसो ओछ्याउन उठाएर राख्छन् । र, हिड्ने बाटो हुन्छ । रातीमा त्यही सुत्छन् । खुट्टा राख्ने ठाउँ हुँदैन, कारागार प्रशासन बताउँछ ।
नेपालगञ्ज कारागारको क्षमता भनेको २ सय ५० जनाको हो । अहिले त्यहाँ ८ सय २६ जना पुगेका छन् । कारागारको क्षमता भन्दा त लागु औषधीका बन्दी नै धेरै छन् । कारागारमा अहिले तीन सय पाँच जना लागु औषधीका बन्दी छन् । कारागारमा सबैभन्दा धेरै बन्दी नै लागु औषधीका छन् । लागु औषधीमा पाँच जना महिला बन्दी छन् ।
कर्तब्य ज्यानको बन्दी एक सय ६२ जना छन् । यसमा २२ जना महिला छन् । जबरजस्ती करणीमा १ सय ४० जना बन्दी छन् । डाँका चोरीका ६२ बन्दी छन् ।
नेपालगञ्ज कारागारमा बाहिरी जिल्लाबाट उपचारको लागि भन्दै पठाउदा चाप अझ बढेको छ । नेपालगञ्जमा अस्पतालको सुविधा राम्रो रहेकाले यहाँको कारागारमा पठाइदिंदा बन्दीहरुले राम्रो उपचार पाउने विश्वास गरिन्छ । त्यसका अलावा लागु औषधीका बन्दी दैनिक नै थपिने गरेका छन् । सीमावर्ती जिल्ला भएकाले भारतबाट लागु औषधी बोकेर आउनेहरु दैनिकजसो नै पक्राउ परिरहेको हुन्छन् भने अन्ततः उनीहरु पुग्ने भनेको कारागार नै हुन्छ ।
जेल प्रशासनका अनुसार, बाहिरी जिल्लाबाट बिरामी बन्दीलाई नेपालगञ्ज पठाउने गरिन्छ । यहाँबाट अन्यत्र जाने होइन कि अन्तबाट यही थपिने गरिन्छ । कारागार परिसरभित्र अर्को भवन बनाउने ठाउँ नहुँदा बन्दीहरु कोचिएर बस्नु परेको छ । नौबस्ता र गनापुरमा बनाउन थालिएको क्षेत्रीय र खुल्ला कारागार निर्माण सम्पन्न भएमा नेपालगञ्ज कारागारको चाप घट्ने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !