डा. सिके राउतको ‘कथैकथा’

नेपालगञ्ज – एकजना नेता भोट माग्दै साधुको घरमा पुगेछ । उसले साधुलाई दुई हजार रुपैया दिंदै भोट आफूलाई दिन भनेछ । साधुले मलाई पैसा होइन, एउटा भारी बोक्ने गधा चाहिएको छ । त्यो ल्याइदिनुस् भनेछन् ।
नेता गधा खोज्न हिडेछ । बजारमा जादा गधालाई डेढ लाख, सवा लाख, एक लाखसम्म पर्ने थाहा पाएछ । नेता फेरि साधुको घरमा पुगेर भनेछ, ‘गधा त महंगो पर्दोरहेछ । लिऊ दुई हजार । भोट मलाई दिनु ।’ त्यसपछि साधुले भनेछन्, तिमीले पैसाले गधा त किन्न सकेनौ, म मान्छेलाई कसरी किन्न सक्छौ ?’
छदमभेषी नेताले जनतालाई किनेर नै मधेसमा चुनाव जितिरहेको र केन्द्रमा पुगेर महंगोमा बेचिरहेको स्मरण गराउदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले यो कथा सुनाउदै भन्नुभयो, ‘पैसाले भोट किन्नेहरुदेखि सावधान हुनुस् । मधेसीका नाममा खुलेका दलहरुले मधेसीको हितमा काम गरेका छैनन् ।’


पार्टीले नेपालगञ्जको त्रिभुवनचोक पूर्वलाइनमा आयोजना गरेको आम सभामा बोल्दै डा. राउतले नेपालका पुराना पार्टीहरुलाई म्याद गुज्रैको औषधीसँग तुलना गरेर अर्को कथा सुनाउनुभयो । ‘जसरी म्याद नाघेको औषधी खादा रोग निको हँदैन, त्यसरी नै पुराना पार्टीले देशको विकास गर्न सक्दैनन्, राउतले भन्नुभयो, म्याद गुज्रेको पार्टीमा लागेर काम छैन ।’
मधेसी दलहरुप्रति बढी आक्रमक देखिएका राउतले भ्रष्टाचारी र अवसरवादी भन्न छोड्नु भएन । मधेसी नेताहरुले केपी ओलीलाई गाली गर्दै केही ठाउँमा पैसा बाँडेर चुनाव जित्ने र केन्द्रमा पुगेपछि ओलीलाई नै सहयोग गर्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले यस्ता छदमभेषी मधेसी नेतालाई चिन्न आग्रह गर्नुभयो । साउनमा हरियो धानमा हरियो साप देखिन्छ । तपाईहरुले धान र सापलाई चिन्नु पर्छ । चुनावका बेलामा मधेसी अनुहार लिएर छदमभेषीहरु भोट माग्न आइपुग्छन् । तपाईहरुले चिनेर भोट दिनुहोला डा. राउतको अर्को कथन थियो ।


डा. राउतले दूधको साछी बिरालोलाई राखिदैन भन्दै बाहिरबाट आएकालाई पनि विकासको जिम्मा दिन नहुने जिकिर गर्नुभयो । राउतले आफू ऋतिक रोशन काण्ड, नेपालगञ्जबाट शुरु भएको मधेस आन्दोलन र आफू पढ्दा विदेशमा पुगेका मधेसी नेतालाई सोधिएको प्रश्नको उत्तर सुनेपछि राजनीतिमा आएको सुनाउनुभयो । राउतले जनमत पार्टीलाई साधुको पार्टी र अन्य मधेसी पार्टीलाई चोर पार्टी भन्न भ्याउनुभयो ।
आम सभामा केन्द्रीय सदस्यहरु अब्दुल खान, इरफान शेषलगायतले मधेसी दल र नेताहरुको नामै किटेर विभिन्न टिप्पणी गर्नुभयो । त्रिभुवनचोक आउदा डा. राउतलाई बाजागाजाले स्वागत गरिएको थियो । राउत चढेको गाडीलाई कार्यकर्ताहरुले मानव सांग्लो बनाएर पहरा दिएका थिए । कार्यकर्ताहरु गाउँगाउँबाट ट्याक्टरमा आएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !