मातृ शिशु र किशोरीको पोषणस्थिति सुधार्ने प्रतिबद्धता

डुडुवा – डुडुवा गाउँपालिकामा स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाउने अभियानलाई सफल बनाउन सामुहिक प्रतिबद्धता गरिएको छ । मातृ शिशु तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार ल्याउनका लागि गाउँपालिकाले प्रतिबद्धता जाहेर गरेको हो ।
दुई दिने एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता गोष्ठीको शुक्रबार समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रतिबद्धता पत्र पढेर सुनाउनु भएको थियो । उहाँले गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउदै नागरिकको गरिबीको न्युनीकरणका लागि आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफनै खेतबारीको उत्पादित अर्गानिक तरकारी तथा फलफुल सेवन गर्न सुझाव दिदै दैनिक खानाको मात्रा मिलाएर खाएमा पोषण रोगबाट बच्न सकिने बताउनुभयो । मधेशी समुदायको बाहुल्यता भएको गाउँपालिका भएकाले यहाँ गरिबी, अशिक्षाको अभावमा स्वास्थ्यलगायत थुप्रै समस्या आइपरेको भन्दै अध्यक्ष चौधरीले विस्तारै नागरिक सचेत हुन थालेको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोल्नुभएको थियो ।
प्रतिबद्धता पत्रमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा, प्रसुती जाँच, स्वास्थ्य अनुगमन, स्वास्थ्यको वार्षिक कार्ययोजना निर्माण, स्वास्थ्य शिबिर सञ्चालन गर्ने र कृषि तथा पशु सेवा, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका सुशासन लगायत विषयगत क्षेत्र अन्तर्गत विभिन्न बुँदामा प्रतिबद्धता गरिएको स्वास्थ्या शाखा प्रमुुख धनबहादुर बुढाले जानकारी दिनुभयो ।
दुई दिनको कार्यक्रममा छलफल गरि निर्माण भएका योजना तथा प्रतिबद्धतालाई गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समाबेश गर्नेछ । सुहारा टुका कार्यक्रम निर्देशक विश्वरमण न्यौपाने, कार्यक्रम संयोजक विकास रोकायले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि विभिन्न शाखा प्रमुख, स्वास्थ्य चौकी इन्चार्जहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !