बाँके र बर्दियाका जनप्रतिनिधि कर्णाली जान तयार

नेपालगञ्ज – बाँके र बर्दियाका जनप्रतिनिधिहरु कर्णाली प्रदेशमा जान तयार भएका छन् । नेपालगञ्जमा आयोजना गरिएको सर्वपक्षीय भेलामा दुई जिल्लाका जनप्रतिनिधिहरु बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने कुरामा सहमत भएका हुन् ।
बाँके र बर्दियाका जनप्रतिनिधिले कर्णाली प्रदेशमा मिसिदा नै दुई जिल्लाले आर्थिक समृद्धि र विकासमा फड्को मार्ने निष्कर्ष निकालेका हुन् । बाँके र बर्दिया ५ नम्बर प्रदेशको पश्चिम कुनामा पर्छन् । नेपालगञ्जबाट शुरु भएको बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानलाई दुई जिल्लाको गाउँगाउँमा पुर्याउनका लागि दु्रतगतिमा रणनीति बनिरहदा मंगलबार जनप्रतिनिधिहरु एक ठाउँमा बसेर बाँके र बर्दियाको फाइदाको कुरा गरेका थिए ।
बाँके र बर्दिया ५ नम्बर प्रदेशमा रहदा भन्दा कर्णालीमा मिसिदा हरेक हिसावले फाइदा हुने निष्कर्ष निकालिएको थियो । कर्णालीमा मिसिने कुरालाई सर्वस्वीकार्य गराउन दुवै जिल्लाको गाउँगाउँमा प्रचार प्रसार गरिने भएको छ । शुरुमा स्थानीय तहमा राखेर हस्ताक्षर अभियान चलाइने कुरा भएको छ । त्यो हस्ताक्षर सरकारलाई बुझाइनेछ । बाँके र बर्दियाका सबै पालिकाबाट कर्णाली प्रदेशमा मिसिने प्रस्ताव पारित गर्ने, पेशागत संघ संगठन र सामाजिक संघ संस्थाकालाई एक्यबद्धता गराउने रणनीति बनाइएको छ ।


बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी गाउँपालिका, बर्दियाको गुलरिया, मधुवन, गेरुवा गाउँपालिकाका प्रमुखहरुले कर्णाली प्रदेशमा मिसिदा फाइदा हुने निष्कर्ष निकालेका हुन् । सर्वपक्षीय भेलामा प्रदेश सांसद मो. याकुव अन्सारी, नेकपाका रत्न खत्री, प्रमोद रिजाल, विजय गुप्ता, कांग्रेसका सुधांशु कोइराला, निरञ्जन सिजापति, सुनिलसिंह हमाल, राप्रपाका ऋषि देवकोटा, मो. सफिक बेहना, वारका अध्यक्ष विकास आचार्य, रविन्द्र कर्ण, विनोद कर्णलगायतले बाँके र बर्दियाको विकास र उन्नति कर्णाली प्रदेशमा मिसिदा हुने बताउनुभयो ।
गेरुवाका प्रमुख जमालसिंह केसीले कर्णालीमा जाने प्रस्ताव नै पारित गरिसकेको जानकारी दिनुभयो । मधुवनका मेयर गणेश केसीले बर्दिया एक्लै भएपनि कर्णालीमा जानु पर्ने आवाज उठाइरहेको बताउनुभयो । गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरीले दुवै जिल्लाका सबै स्थानीय तहको सहभागिता गराएर एकमतका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, नेपालगञ्जका उपमेयर उमा थापा, खजुराका एकमाया विक, बर्दिया गेरुवाका उपाध्यक्ष हिमाकुमारी थारुले जनतालाई अघि लगाएर अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशमा जादा हुने फाइदाकाबारेमा जनतालाई बुझाएर अगाडि लगाउन सक्दा राजनीतिक दलहरु आफै समर्थनमा आउने अभियान्ताहरुको बुझाई रहेको छ । अहिले नेपालगञ्जमा कतिपयले पायक पर्ने ठाउँमा राजधानीको कुरा गरिरहेका छन् त एकथरी राजधानी जहाँसुकै होस् बाँके र बर्दियाको हितको लागि कर्णालीमा मिसिने कुरा गरिरहेका छन् । कर्णाली प्रदेशमा मिसिने अभियान्ताहरु राजनीतिसँग नजोडिएर अगाडि बढेका छन् । यद्यपि, उनीहरुले राजनीतिक दलको समर्थन र साथ अनिवार्य हुनुपर्ने बताइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !