जग्गा किनेर बसेकाहरु आन्दोलनमा
नेपालगञ्ज – सरकारले व्यक्तिको नाममा गएको बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित भएका छन् ।
मन्दिरको जग्गा व्यक्तिको नाममा परिणत भएसँगै त्यो जग्गा किनेर बसेका स्थानीय बासिन्दाहरु ‘आफूहरुको के दोष’ भन्दै आन्दोलनमा उत्रिएका हुन् । मन्दिरको जग्गा किनेर बसेकाहरु इन्द्रपुरबाट नारा जुलुशसहित वीपीचोकमा आएर प्रदर्शन गरेका हुन् ।
सरकारद्वारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तीन महिना लगाएर अध्ययन गरेपछि व्यक्तिको नाममा गएको मन्दिरको जग्गा फिर्ता गर्र्नु पर्ने रायसहित सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारले मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेको छ ।
डेढ सय वर्षदेखि जग्गाको तिरो तिरेर बसेका स्थानीय बासिन्दाले हचुवाको भरमा सरकारले निर्णय गरेको आरोप लगाएका छन् । ‘मन्दिरको जग्गा थियो भने हामीलाई किन सरकारले लालपूर्जा दियो ?, किन तिरो लियो ?’ स्थानीयले आक्रोश पोखेका छन् ।
दीपक शाहले २०२१ सालदेखि तिरो तिरेर बसेको ठाउँबाट सरकारी उठाउन नमिल्ने बताउनुभयो । तुलाराम कुर्मीले कागज र प्रमाण हेरेर छानबिन गर्न आग्रह गर्नुभयो ।
आक्रोशित बासिन्दाले केहीबेर वीपीचोकमा बसेर चक्काजाम गरेका थिए । उनीहरुले अहिलेको आन्दोलनलाई सांकेतिक भन्दै सरकारले निर्णय फिर्ता नलिए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।