चालु आवमा नगरलाई साक्षर घोषणा गरिने
नेपालगञ्ज – नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले नेपालगञ्जलाई चालु आर्थिक वर्षभित्रै साक्षर नगर घोषणा गरिने बताउनुभएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा सम्वद्ध पदाधिकारीहरुका लागि आयोजित तीन दिने क्षमता विकास कार्यशालाको मंगलबार समापन गर्दै प्रमुख राणाले साक्षर नगर बनाउनका लागि सबैको साथ र सहयोगको आवश्यकता भएकोमा जोड दिनुभयो । राणाले कार्यक्रमअन्तर्गत योजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिने बताउनुभयो ।
उपमेयर उमा थापा मगरले कार्यक्रमअन्तर्गत योजना कार्यान्वयनमा पनि सबैको धयान पुग्नुपर्नेमा जोड दिनुभयो । तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न आग्रह गर्दै उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारमा उपमहानगरपालिकाबाट भइरहेका पहल र प्रयासमा साथ दिन आग्रह गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले अभिभावकलाई साक्षर बनाउन सके मात्रै बालबालिकाको शैक्षिक स्तरमा सुधार ल्याउन सकिने मान्यताका साथ कार्यक्रम सुरु गर्न लागिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष समिरप्रताप सिंह, शिक्षक महासंघका अध्यक्ष बाबुतरुण गौतमलगायतले कार्यक्रमको प्रभावकारिताका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।