आफैले बोकेको बन्दुक पड्केर प्रहरी घाइते

नेपालगञ्ज – बर्दियामा विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा प्रहरी जवानलाई गोली लागेको छ । विप्लव माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैले बोकेको बन्दुक पड्किदा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन् ।
विप्लवका कार्यकर्ताहरु एनसेल टावर हान्न आएका छन् भन्ने विशेष सूचना पाएपछि प्रहरी मधुवन–४ को नहरमा पुगेको थियो । दुई वटा मोटरसाइकलमा रहेका विप्लव माओवादीका कार्यकर्ताहरु प्रहरीले लखेटेर समातेको थियो ।
बर्दियाका एसपी राजेशनाथ बास्तोलाले विप्लव माओवादीलाई समातिसकेपछि भाग्न खोज्ने र समात्नेका बीचमा लडाई हुँदा दुर्घटनाबस प्रहरीले बोकेको बन्दुक पड्किएको बताउनुभयो ।
प्रहरी जवान चौधरीलाई दाहिने खुट्टाको साप्रामा गोली लागेकोछ । चौधरी खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइते चौधरीको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।
चौधरीका अनुसार, तीन वटा मोटरसाइकलमा प्रहरी थियो । प्रहरीले विप्लव माओवादीका जयबहादुर ठाडामगर र रोहितकुमार सुनारलाई पक्राउ गरेको छ । दुई जना भाग्न सफल भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !