भारतलाई फेरि पत्र लेख्दै सरकार

काठमाडौँ – सरकारले भारतसँग वार्ताका लागि मिति तय गर्दै त्यसको अनुमोदनका लागि फेरि पत्र लेख्ने गृहकार्य थालेको छ ।
भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई समावेश गरेर नक्सा सार्वजनिक गरेको २० दिनपछि नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भएको र यससम्बन्धी विवाद अन्त्यका लागि वार्ता गर्न आग्रह गर्दै कूटनीतिक पत्र पठाएको थियो । त्यसको जवाफमा भारतले यही मंसिरको पहिलो साता नेपाललाई कूटनीतिक पत्र नै पठाउँदै कालापानी क्षेत्रमा सीमा विवाद रहेको स्वीकार गर्दै त्यो विवाद समाधान गर्न तयार रहेको सन्देश दिएको थियो ।
भारतको उक्त पत्रले वार्ताका लागि आफूहरुलाई बाटो खोलेको भन्दै त्यसको मिति तय गरी अनुमोदनका लागि आग्रह गर्ने तयारी गरिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
‘अहिले हामी वार्ताका लागि अर्को नयाँ डेटको गृहकार्य गरिरेहका छौँ । मलाई विश्वास छ यो समस्याको समाधान गर्न सकिन्छ र गर्नै पर्छ । अर्को कुनै बाटो छैन,’ सोमबार परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्री ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले विगतका शासकहरुले समयमै यसमा चासो देखाएको भए यो समस्या समाधान भइसक्ने भन्दै पछिल्लो समय पुनजागृत भएको यो मुद्दाले नेपाल र भारतबीचको सम्बन्धमा नकारात्मक प्रभाव नपार्ने दाबी गर्नुभयो ।
गत कात्तिक १५ गते नेपाली भूमि कालापानी क्षेत्रलाई समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । त्यसको भोलिपल्ट कात्तिक १६ गते देखि नै विरोध शुरु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !