विशिष्ट व्यक्तित्वलाई जंगल सफारीको तयारी
नेपालगञ्ज – नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन बुधबार बाँके राष्ट्रिय निकुञ्जमा विशिष्ट व्यक्तित्वहरुले जंगल सफारी गर्ने भएका छन् ।
५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितको टोलीले निकुञ्जमा जंगल सफारी गर्ने कार्यक्रम तय गरिएको हो । निकुञ्जमा अहिले पनि जंगल सफारी भने चलिरहेको छ । जिल्लाको पर्यटकीय क्षेत्र मानिने निकुञ्जमा नयाँ वर्षको पहिलो दिन नै विशिष्ट व्यक्तित्वहरुलाई हात्ती र जीप सफारी गराएर प्रचार प्रसार गर्ने रणनीति अपनाइएको छ ।
बाघ संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । बाघको संख्या बढ्दै जादा यहाँ सजिलै बाघ देख्न थालिएको छ । जिल्लामा आउने पर्यटकलाई घुमाउने ठाउँमध्येको निकुञ्जको प्रचार प्रसारमा जोड दिइएको छ ।
भ्रमण वर्षको शुरुवात भने नेपालगञ्जका सिद्धार्थ भिउ होटलमा कार्यक्रम गरेर शुरुवात गरिदैछ । होटलले सांस्कृतिक कार्यक्रम राखेको छ । मंगलबार राती १२ बजे मुख्यमन्त्री पोखरेलले ब्यानर उतारेर नयाँ वर्षको शुरुवात गर्दै हुनुहुन्छ । बुधबार विहान नेपालगञ्ज नाका भएर भित्रिने पर्यटकलाई स्वागत गरिने छ । यहाँका होटलहरुले नयाँ वर्षमा लागि प्याकेज तयार पारेका छन् ।