खेल शिक्षकलाई प्रशिक्षण

खजुरा – खजुरा गाउँपालिकाको शिक्षा समितिले खेल शिक्षकलाई तीन दिन प्रशिक्षण दिएको छ ।
खजुराको ज्ञानोदय स्कूलमा सञ्चालित तीन दिने प्रशिक्षणमा २९ विद्यालयका खेल शिक्षकको सहभागिता रहेको थियो ।
लालबहादुर मल्लले भलिबल, विक्रम थापाले एथलेटिक्स, जनक केसीले कबड्डीबारेमा प्रशिक्षण दिनु भएको थियो । खेलको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका लागि दोस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सचिवालय संयोजक यमनारायण महतो, शिक्षक शरण सापकोटा, बुद्धिराम महतोले सहजीकरण गर्नु भएको थियो ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खेलमा सबैभन्दा ठूलो कुरा अनुशासन भएकाले दोस्रो मेयर रनिङ शिल्ड सफल बनाउन सबै सरोकारवाला पक्ष सक्रिय भएर लाग्नु पर्ने बताउनुभयो ।
खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले खेल शिक्षकलाई प्रशिक्षण दिएर खजुराले गर्व गर्न लायक काम गरेको बताउनुभयो ।
शिक्षा समिति सदस्य एवं ज्ञानोदय नमूना मावि व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य एवं ज्ञानोदय नमूना माविका प्रधानाध्यापक ऋषिराम सापकोटाले खेल शिक्षकलाई दिइने प्रशिक्षणले खेलमा हुने नियमबारे समस्या हल हुनुका साथै विद्यालयमा खेल प्राविधिक तथा सैद्धान्तिक ज्ञानबारे थप उर्जा प्रदान हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !