जाेन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

नेपालगन्ज – विश्व खेलकुदमा मिनी ओलम्पिकका रुपमा चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्या निवासी जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त भएका छन् ।

धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा समेत उनी सहभागी भए । विश्व प्रतिष्ठित सिंगापुर म्याराथन, मुम्बई म्याराथन, ब्रसेल्स म्याराथन(न्युजिल्याण्ड), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा) लगायत म्याराथन जित्न सफल जोन शुक्रबार नेपाल छाड्दैछन् । नेपाल छाड्नुअघि उनीसँग गरिएको संक्षिप्त कुराकानी ।
– तपाईंलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त गरिएकोमा कस्तो महसुस महसुस भइरहेको छ ?
> धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको रुपमा नियुक्त गरिएकोमा मलाई निकै खुशी र सम्मानित महसुस गराएको छ ।
– तपाईंले गौघाट ग्रीन रनमा सहभागिता जनाउनुभयो । दौडमार्फत जलवायु परिवर्तन बारे जनचेतना फैलाउने आयोजकको प्रयासलाई तपाईं कसरी हेर्नुहुन्छ ?
> आयोजकहरुको प्रयासले मलाई साँच्चै प्रेरित गर्यो । उनीहरुले जलवायु परिवर्तन र त्यसको जीवनमा पर्ने प्रभावका बारेमा स्थानीय जनतालाई शिक्षाको सन्देश दिने सरल र शान्तिपुर्ण तरिका प्रस्तुत गरेका छन् । अब यसलाई व्यवहारिक रुपमा अँगाल्न, ठुलो संख्यामा वृक्षरोपण गरेर अनि प्लास्टिकको प्रयोगमा कमी गरे यस जागरण अभियानमा जनसहभागिता बढाउनु आवश्यक छ ।
– धारा नेपालगन्ज म्याराथन र यसका भगिनी इभेन्टहरुले तपाईंको सहभागितामार्फत अन्तर्राष्ट्रिय धावकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेका छन् । यी कार्यक्रमहरुलाई विश्वस्तरमा पुर्याउन तपाईंको भुमिका के रहनेछ?
> धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको रुपमा म यो कार्यक्रमको स्तर वृद्धि गर्न चाहन्छु । म विश्वस्तरीय म्याराथन धावकहरुको सहभागिता गराउन समन्वय गर्नेछु, जसले गर्दा धारा नेपालगन्ज म्याराथनलाई विश्वस्तरको गोल्ड लेभल म्याराथनमा रुपान्तरण गर्न सहयोग पुग्नेछ ।
– धारा नेपालगन्ज म्याराथनको सदभावना दुतका रुपमा तपाईंलाई हरेक बर्ष नेपाल आउनुपर्ने हुनसक्छ । के तपाईं नियमित रुपमा आउन तयार हुनुहुन्छ?
> धारा नेपालगन्ज म्याराथनको सदभावना दुतका रुपमा म कुनैपनि समय र स्थानमा आयोजना गरिने दौड कार्यक्रममा अवश्य सहभागी हुनेछु ।
– यदि धारा नेपालगन्ज म्याराथनले रनिङ क्लिनिक वा यस्तै केही आधारभुत प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने योजना बनायो भने तपाई आफ्नो समय यहाँ दिन इच्छुक हुनुहुन्छ?
> हो, म धारा नेपालगन्ज म्याराथनले सन्चालन गर्ने रनिङ क्लिनिकहरु वा यस्तै प्रशिक्षण कार्यक्रमहरुमा हरेक बर्ष म मेरो समय समर्पित गर्नेछु ।
– कृपया तपाईंका मुख्य दक्षता र अनुभवका बारेमा बताउन सक्नुहुन्छ? यसले हामीलाई सरोकारवालासँग सहकार्य र समन्वय गर्न सहज हुनेछ ।
> दौड क्षेत्रमा मेरो अनुभव र दक्षताका बारेमा भन्नुपर्दा म एमेच्योर र एलिट खेलाडीलाई प्रशिक्षण गराउन सक्छु । युवाहरुलाई परामर्श दिन र मार्गनिर्देश गर्न सक्छु । प्रेरणादायी वक्ताका रुपमा बालबालिकालाई प्रेरित गर्नसक्छु । एथ्लेटिक्स प्रतियोगिता आयोजना र व्यवस्थापनमा आइडिया शेयर गर्न सक्छु र कार्यान्वयनमा सघाउन सक्छु ।
– केन्या स्वयं विश्वस्तरीय धावकहरु उत्पादन गर्ने कारखानाको रुपमा परिचित छ । धारा नेपालगन्ज म्याराथनले सिफारिस गरेका धावकहरुका लागि त्यहाँ प्रशिक्षण वा अभ्यास कार्यक्रम सन्चालन र्ने सम्भावना के छ? कृपया विस्तारमा बताउनुहोस् न ।
> हो केन्यामा व्यवस्थित कार्यक्रमहरुको सम्भावना छ, जसले खेलाडीहरुलाई प्रत्यक्ष लाभ पुर्याउनेछ । यसले धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको जिम्मेवारीमा रहेका कारण नेपालबाट सिफारिस हुने खेलाडीहरुलाई प्रत्यक्ष लाभ पुर्याउन म सदैव तत्पर रहनेछु । साथै, म धारा नेपालगन्ज म्याराथनले सिफारिस गरेका खेलाडीहरुलाई सहयोग र समन्वय गर्न तयार रहनेछु ।
– केन्याली रनिङ एकेडेमीहरुले नेपालका रनिङ आयोजकहरु वा एकेडेमीहरुसँग कसरी सहकार्य गर्न सक्छन्? र, यस्तो सहकार्यलाई सहज बनाउन तपाईंको के भुमिका हुनसक्छ?
> केन्याको विश्व एथ्लेटिक्समा प्रभुत्व हुनु र गहिरो रुपमा जरा गाडिनु त्यहाँका रनिङ एकेडेमीहरुका कारण हो । म केन्या एथ्लेटिक्स फेडरेसन र नेपाललाई धारा नेपालगन्ज म्याराथनमार्फत जोड्दै दुवै देशबीच अनुभव, संस्कृति र विकासका आयाम आदानप्रदान कार्यक्रम सन्चालन गर्नेछु ।
– तपाईंको नजरमा नेपालमा दौडप्रतिको आकर्षण कस्तो छ? र, बालबालिका तथा युवाहरुमा यो रुची अझ बढाउन के गर्न सकिन्छ?
> नेपालमा दौडको स्तर अहिले तुलनात्मक रुपमा न्युन छ, तर युवाहरुमा आकर्षण बढ्दो देखे मैले । यसलाई थप सशक्त बनाउनका लागि प्रेरणादायी वातावरण सिर्जना गर्नु र स्थानीय वा जिल्ला स्तरमा धेरैभन्दा धेरै प्रतियोगिताहरु आयोजना गर्नु जरुरी छ ।
– अन्त्यमा, तपाईं नेपाली धावकहरु, खेलप्रेमीहरु र समुदायलाई के सन्देश दिन चाहनुहुन्छ?
> मलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुतको रुपमा नियुक्त गरेकोमा यसको म्यानेजमेन्ट टिम र सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन्छु । नेपालमा एथ्लेटिक्समा ठूलो सम्भावना छ । तर प्राविधिक प्रशिक्षण, सहयोग र पूर्वाधारको अभाव छ । त्यसैले एथ्लेटिक्स प्रशिक्षणको आधारभुत क्षमता विकास गर्नु अत्यावश्यक छ । धन्यवाद ।


error: यो सुविधा उपलब्ध छैन !