बाघको आक्रमणबाट घाइते श्रीसलाई सहयोग

खजुरा – खजुरा गाउँपालिकाले बाघको आक्रमणबाट घाइते भएका दीपबहादुर श्रीसलाई एक लाख रुपैया सहयोग गरेको छ ।
गत जेठ १३ गते खजुरा–३, धौलागिरीको किरणनालामा अरुको ज्यान बचाउन गएका बेला बाघको आक्रमण परी श्रीस घाइते भएका थिए ।
लामो समयदेखि घाइते नै रहेका श्रीसलाई उपचारमा सहयोगका लागि गाउँपालिकाले एक लाख रुपैया दिएको हो । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विक, खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसीलगायत श्रीसको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सहयोग दिदै अध्यक्ष कक्षपतिले स्वास्थ्य लाभको कामना गर्नुभयो । बाघको आक्रमणबाट श्रीसको घाँटी, छातीमा घाउ हुनुका साथै दायाँ खुट्टाको दुई ठाउँमा गम्भीर चोट लागेको छ । श्रीसको दाया खुट्टामा रड राखेर अप्रेशन गरिएको छ । बाघको आक्रमण परेका श्रीस करीब एक महिना नेपालगञ्ज शिक्षण अस्पतालको उपचारपछि घर फर्किँदा पुनः जीवन पाएको भन्दै बाजा गाजाले स्वागत गरिएको थियो । हाल श्रीस घरमै छन् ।


error: यो सुविधा उपलब्ध छैन !