चिसोले छाला सुख्खा हुन्छ, ध्यान दिनुस्
नेपालगञ्ज – जाडो लागेसँगै अधिकांशमा छाला सुख्खा हुने, सुन्निने, फुट्ने, चिलाउने, घाउ हुने लगायतका समस्या देखिन थाल्छन् ।
छाला सुख्खा भएपछि चिलाउँछ, धेरै कन्याएपछि घाऊ नै बन्छ, त्यसैले अलिअलि चिलाउँदैमा विशेष ध्यान दिनुपर्ने छालारोग विशेषज्ञ उमा केयल बताउनुुहुन्छ ।
केयल भन्नुहुन्छ, ‘सुख्खा छालामा धेरै कन्याएर आफैले घाउ बनाउँछन् र सामान्य सोचेर वेवास्ता गर्छन् । तर, किटाणुको संक्रमणले घाउ जटिल बन्दै जानसक्छ, यसकारण समयमै खाने र लाउने औषधिमा ध्यान दिनुपर्छ ।’
जाडोयाममा धेरै तातो पानीले ननुहाउन पनि सुझाव दिनु भएको छ । जाडो लाग्ने बित्तिकै मानिस धरै तातोपानीको प्रयोग गर्छन् ।
यसले पनि छाला सुख्खा हुने गर्दछ । त्यसो त तातोपानीको प्रयोग नै नगर्ने भन्ने होइन ।
तातोपानीको प्रयोगपछि छाला सुख्खा हुने, फुट्ने समस्या देखिने हुनाले नुहाउने वित्तिकै तेल, क्रिमको प्रयोग गर्नुपर्ने गर्नुपर्छ ।
‘तातोपानीले नुहाउने वित्तिकै छाला नरम हुन्छ र छालाका स–साना डट खुल्छन् । यसबाट क्रिम, तेल सजिलै छिर्छ र सुख्खा हुन पाउँदैन’, केयलको भनाई छ ।
तर सबै प्रकारका क्रिमले सुख्खापन हटाउँदैन र सबै प्रकारका छालालाई एउटै क्रिम उपयुक्त नहुनाले छालाको प्रकृतिअनुसार क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । गर्मीमा लगाइने क्रिम जाडोमा उपयुक्त नहुनसक्छ त्यसैले क्रिमको प्रयोग समयअनुकुलको गर्नुपर्नु पर्छ ।
पटक–पटक चिसो पानी चलाउँदा, साबुनको धेरै प्रयोग, ब्लड प्रेसर लगायत विभिन्न औषधि सेवन गर्नेहरुमा पनि छाला सुख्खा हुने समस्या हुन्छ । जसबाट बच्न मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्नुपर्छ ।
छालालाई सुख्खा हुनबाट जोगाउन खानपानमा समेत विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउनाले छालामा कम समस्या देखिने गर्दछ ।
धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या भएमा मनतातो पानीमा नुन राखेर डुबाउने र तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउँदा राम्रो हुन्छ ।
यति गर्दा पनि छाला सुख्खा हुने र फुट्ने समस्या दखिएमा चिकित्सकसँग सल्लाह लिनुपर्ने डर्माटोलोजिष्ट केयलले सुझाव दिनुभयो ।