स्व. कोइरालाको जन्मजयन्तीमा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर


नेपालगन्ज – संविधानका पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८७ आैं जन्मजयन्तीका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाको मटहैयामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नेपाली काँग्रेस, बाँके र नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको संयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना सञ्चालन गरिएको हो । काँग्रेसको सामाजिक कार्यक्रमअन्तर्गत दूरदराजका नागरिकलाई घरदैलोमै विशेष सेवा उपलव्ध गराउने योजना अनुरुप संविधान पिता स्वर्गीय कोइरालाको जन्मजयन्तीको अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
‘बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगन्जवाट टाढा रहेको र जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार विकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्यलगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको हो’, नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले भने ।

स्वास्थ्य शिविरमा बाँकेका केहि पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रालिले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, स्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिएको जनाइएको छ । अध्यक्ष बस्नेतका अनुसार, शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रालिका डिएम नेफ्रोलोजिष्ट डा. सौरभसिंह हमाल, कन्सलटेन्ट फिजिसियन डा. प्रतिभा भण्डारी, मेडिकल अफिसर शिवा आले तथा ल्याब टेक्निसियनसहितको स्वास्थ्यकर्मीहरुले उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । शिविरमा ५०० बढीको स्वास्थ्य जाँच गरिनुका साथै निशुल्क अाैषधीसमेत वितरण गरिएको थियो ।

यसअघि आयोजित शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गाैडेलले काँग्रेस सधैं नेपाली जनताको सुखदुःखसंँग जोडिएको छ भन्दै पार्टीको सामाजिक कार्यक्रमअन्तर्गत संविधानका पिता स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तीको अवसरमा स्वास्थ्य शिविर गरिएको बताए ।

सभापति गौडेलले भने, ‘काँग्रेस पार्टीप्रति जनताको माया छ, भरोसा छ । यो माया र भरोसालाई पार्टीले सधै उच्च सम्मानका साथ शिरमा राख्दै आएको छ ।’ उनको थप भनाई थियो, ‘काँग्रेस झुठो बोल्दैन । जे गर्छ त्यही भन्छ र जे भन्छ त्यही गर्छ । जनताहरुले पनि काँग्रेसलाई त्यसरी नै बुझ्नु पर्छ ।’

त्यस अवसरमा काँग्रेस महासमिति सदस्य एवम् पूर्व मन्त्री सुरेन्द्रबहादुर हमाल, बाँके क्षेत्र नं. १ का सभापति पोषण केसी र पार्टी महासमिति सदस्य एवम् नरैनापुर गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले संविधानका पिता सुशील कोइरालाले देखाएको वाटोमा नेपाली काँग्रेस अनवरत हिड्दै आएको छ भने ।

शिविर शुभारम्भ समारोहमा नेपाली काँग्रेस, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, सदस्य रबि हमाल, प्रेस सल्लाहकार नीरज गौतम, कार्यालय सचिव अमित कंडेल, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव एवं नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन, बाँकेका अध्यक्ष प्रियास्मृति ढकाललगायतको उपस्थिति रहेको थियो ।

नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेका सचिव तेज ओलीले सञ्चालन गरेकाे कार्यक्रममा जननायक विपी कोइराला र संविधानका पिता सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो भने लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !