नाकामा स्वास्थ्यकर्मी अभाव
नेपालगञ्ज – नेपालगञ्ज नाकामा १५ दिनमा ३ सय ७८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
भारतमा ओमिक्रोन फैलिएपछि ठूलो संख्याका नेपाली घर फर्किएका थिए । उनीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गर्दा कोरोना पुष्टि भएको हो ।
नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, पुस १९ गतेदेखि माघ ३ गतेसम्ममा ५ हजार ९ सय ८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमा ३ सय ७८ जनालाई संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्ज नाकामा चैत्र १२ गतेदेखि नै कोरोनालगायतको जाँच हुँदै आएको छ । बीचमा कोरोना देखिएको थिएन । भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालगञ्ज नाकाबाट घर फर्किएका नेपालीमा ओमिक्रोन देखिएको हो ।
नेपालगञ्ज नाकामा भारतबाट फर्किएका सबैको कोरोना जाँच भइरहेको छैन । भीडभाडमा चलाख व्यक्ति फुत्किने गरेका छन् । यो नाकामा भारतबाट आउनेमा ओमिक्रोन देखिने बढ्दो छ । पछिल्लो तीन दिनमा धेरैको जाँच हुन सकेको छैन । स्वास्थ्यकर्मी नै संक्रमित भएर बसेका छन् । भारतबाट फर्किनेको संख्यामै कमी आएको ल्याब टेक्निसियन ज्ञवालीको भनाई छ ।
नेपालगञ्ज नाकामा १७ जना स्वास्थ्यकर्मी खटिएका थिए । त्यसमा १० जनालाई कोरोना पुष्टि भएको छ । ल्याबकै कर्मचारीलाई कोरोना पुष्टि भएपछि जाँचमा समस्या भएको छ । नाकामा अन्य पालिकामा कर्मचारी पठाउन थालिएको छ । खजुरा र डुडुवा गाउँपालिकाले दुई÷दुई जना र नरैनापुर गाउँपालिकाले एक जना कर्मचारी पठाएका छन् ।
भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेले निर्देशन गरेको छ ।