नजिक देखिएन बाघ

 

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई दिनको फरकमा दुई जनाको ज्यान लिएको बाघलाई नियन्त्रणमा लिने प्रयास सफल हुन सकेको छैन ।
बाघलाई नियन्त्रणका लागि दुई ठाउँमा पाडालाई राखिएको छ । पाडा खान आएमा बाघलाई नियन्त्रणमा लिन प्राविधिक टोली खटिएका छन् । पछिल्लो पटक राप्तीसोनारी गाउँपालिका वडा नं. ६, हब्रहवाकी चाँदनी थारुलाई आक्रमण गरेको ठाउँको आसपासमा दुई वटा पाडालाई राखेर नियन्त्रण प्रयास गरेपनि बाघ देखिएको छैन ।
चाँदनीलाई आक्रमण गरेको दुई दिनसम्म बाघको पाइला देखिएको सदाबहार सामुदायिक वनमा अहिले बाघ देखिएको छैन । हिंस्रक बाघलाई नियन्त्रणमा लिन चितवनबाट आएका प्राविधिक टोली दैनिक नै जंगलमा जादै बाघ खोज्दै गरिरहेका छन् ।
पुसको २२ गते लिला विष्ट र २४ गते चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भएपछि राप्तीसोनारी त्रसित भएको थियो ।
हिंस्रक बाघ नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति कोषले प्राविधिक टोली खटाएको छ । चितवनबाट आएका डा. अमिर सडौला र प्राविधिक तीर्थ लामा राप्तीसोनारीको जंगलमा खटिरहेका छन् । दुई वटा हात्तीको सहायताले उनीहरु बाघ नियन्त्रण गर्न लागि परेका छन् । बाघ भने देखा परेको छैन । करिव पाँच सय मिटरको दुरीमा दुई वटा पाडालाई बाँधेर राखेको आठौ दिन भइसक्यो । बाघ पाडा खान आएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !