भारतबाट आएका ३७ जनालाई कोरोना देखियो

नेपालगञ्ज – भारतबाट आएका नेपालीमा कोरोना पुष्टि हुने क्रम बढेको छ ।
नेपालगञ्ज नाकामा शुक्रबार ३७ जनामा कोरोना पुष्टि भएको छ । एकैदिन यतिका संक्रमित देखिएको नेपालगञ्ज नाकामा पहिलो पटक हो ।
नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले ७ सय १० जनाको जाँच गर्दा ३७ जनामा कोरोना देखिएको बताउनुभयो । भारतको महाराष्ट्रबाट आएका धेरैमा कोरोना देखिएको छ ।
कोरोना पुष्टि भएकाहरुलाई एम्बुलेन्समा राखेर बाल मन्दिर नजिकको आइसोलेसन सेन्टरमा लगिएको छ ।
शुक्रबारदेखि नेपालगञ्ज नाकामा मास्क अनिवार्य गरिएको छ । भारतबाट आएका सबैलाई अनिवार्य मास्क लगाउन लगाइएको छ । यो नाकामा कोरोना देखिएका पहाडी जिल्लाका मानिस छन् । उनीहरुलाई केही दिन यहीको आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !