मतदाता नामावली भर्नेको भीड

नेपालगञ्ज – बाँकेमा मतदाता नामावली भर्नेको भीड लागेको छ ।
अरु दिनको तुलनामा आइतबार जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली भर्नेको भीड लागेको थियो । जिल्ला प्रशासन कार्यालय, बाँकेबाट नागरिकता बनाएकाहरु मतदाता नामावली भर्न जिल्ला निर्वाचन कार्यालयमा पुगिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले पालिका अनुसार मतदाता नामावली भरेको छ । आइतबार राप्तीसोनारी, डुडुवा र जानकी गाउँपालिकाको नामावली भर्ने अन्तिम दिन भएकाले ठूलो भीड थियो । यसअघि खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा नामावली संकलन गरिएको थियो । तीन वटा गाउँपालिकाको आइतबार अन्तिम दिन भएकाले आज नभरेपछि छुटिहालिन्छ भन्ने लागेर गाउँगाउँबाट विहानैदेखि मानिस आएका थिए ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले केही दिनयता मतदाता नामावली भर्नेको संख्या बढेको जानकारी दिनुभयो । उहाँका अनुसार, साउनयता २० हजार मानिसले मतदाता नामावली भरेका छन् । त्यसमा ५ सयजति बाहिरी जिल्लाका छन् ।


सडकसम्म लामो भीड हेर्दा जिल्ला निर्वाचन कार्यालयले व्यवस्थापन गर्न नसकेको देखिन्थ्यो । धेरै मानिस आउदा भएका जनशक्तिले थेग्न सकेको थिएन । जिल्ला निर्वाचन कार्यालयको दैनिक तीन सयदेखि तीन सय पचास जनाको मतदाता नामावली भर्न सक्ने जनशक्ति रहेको छ । कार्यालय प्रमुख सुवेदीले शुक्रबार राती नौ बजेसम्म बसेर ५ सय जनाको नामावली संकलन गरेको बताउनुभयो । आइतबार कार्यालय परिसरभित्र र बाहिर सडकमा गरेर एक हजार बढी मानिस थिए ।
सरकारले निर्वाचनको तयारी गरिरहदा मतदाता नामावली भर्ने बढेका छन् । नेता तथा जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय परिसरमा पुगेर सहजीकरण गरेको देखिन्थ्यो । चुनावमा होमिन तयारी गरेका नेताहरु आ–आफ्ना समर्थकको मतदाता नामावली भर्न व्यस्त देखिन्थे । केहीले लाइनमै पानी बाँडिरहेका थिए ।


केही दिनयता नागरिकता लिनेको संख्या पनि बढेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले अहिले दैनिक एक सय ३५ वटासम्म नागरिकता गइरहेको जानकारी दिनुभयो । ‘१५ दिनदेखि नागरिकता लिने बढेका छन्, प्रशासकीय अधिकृत सोनकरले भन्नुभयो, पहिला दैनिक ५०-६० वटा नागरिकता वितरण भइरहेको थियो भने अहिले एक सय ३० देखि ३५ वटासम्म वितरण भइरहेको छ ।’


error: यो सुविधा उपलब्ध छैन !