सबै खेलमा गोलको वर्षा गर्दै अटो मोबाइल्सले जित्यो फुटसलको उपाधी
नेपालगञ्ज – नेपालगञ्ज फिनिक्स राउण्ड टेबलले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधी नेपालगञ्ज अटो मोबाइल्स एशोसियसनले जितेको छ ।
एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारीले नेतृत्व गरेको अटो मोबाइल्सले नेपालगञ्ज मेडिकल कलेजको टीमलाई ५–० गोलले पराजित गर्दै उपाधी जितेको हो । फाइनलमा मनिष थापाले ह्याट्रिक, ज्ञानमणि अधिकारी र कौशल पाण्डेले एक÷एक गोल गरेका थिए ।
फाइनल जितेसँगै अटो मोबाइल्सले ४० हजार रुपैया पुरस्कार पाएको छ । प्रतियोगिताको उच्च गोलकर्ता अटो मोबाइल्सका ज्ञानमणि अधिकारी भए । अधिकारीले प्रतियोगितामा १५ गोल गरेका थिए । प्रतियोगिताको बेष्ट खेलाडी नेपालगञ्ज मेडिकल कलेजका डा. दिग्बिजयबहादुर खड्का भए ।
प्रतियोगितामा आठ वटा टीम सहभागी थिए । लिग कम नकआउटका आधारमा खेलाइएको खेलमा अटो मोबाइल्सले सबै प्रतिद्वन्द्वीविरुद्ध गोलको वर्षा गरेको थियो । पहिलो खेलमा अटो मोबाइल्सले बैंक अफ काठमाडौंलाई १२–३ गोल, दोस्रो खेलमा नबिल बैंकलाई १०–१ गोल, तेस्रो खेलमा हिमालय बैंकलाई ५–१ गोल र सेमिफाइनलमा एसबीआई बैंकलाई ६–० गोलले पराजित गरेको थियो ।
अटो मोबाइल्सका तर्फबाट कप्तान सूर्यमणि अधिकारी, मोहन अधिकारी, ज्ञानमणि अधिकारी, अपूर्व सिंह, अमृत श्रेष्ठ, मनिष थापा, कौशल पाण्डे मैदानमा उत्रिएका थिए । टीमको व्यवस्थापक सविन घिमिरे रहेका थिए ।