सुरक्षा अधिकारीद्वारा सीमाको बस्तुस्थिति अध्ययन
नेपालगञ्ज – नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षाकर्मी बीचको इन्डो नेपाल समन्वय बैठक लगत्तै बाँकेका सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रको स्थलगत अवस्था अध्ययन शुरु गरेका छन् ।
छिटै हुने दोस्रो बैठकमा सीमाको अवस्थाबारेमा छलफल गर्ने तयारी स्वरुप प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको टोलीले बाँकेको पूर्वी सीमा सुइया र घोडदौडियालगायतको क्षेत्रको बस्तुस्थिति बुझेका हुन् ।
‘काउन्टर पार्टको हाम्रो अर्को बैठक भारतमा हुँदैछ । त्यहाँ सीमाको सुरक्षाका अवस्थाबारेमा हामीले एजेन्डा प्रस्तुत गर्दैछौं । त्यही तयारी स्वरुप बाँकेको विभिन्न सीमावर्ती क्षेत्रको अवस्था अध्ययन गर्ने क्रम शुरु भएको छ, प्रजिअ खत्रीले भन्नुभयो ।
यसअघि बुधबार नेपालगञ्जमा नेपालको पश्चिम नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका प्रहरी प्रशासनका अधिकारी र भारतको महाराजगञ्ज, बहराइच, श्रावस्ती, लखिमपुर, पिलिभित, सिद्धार्थनगर र बलरामपुर जिल्लाका डिस्ट्रिक मेजेस्टेड (डीएम) र भारतीय सीमा सुरक्षा बलसँगै प्रहरी प्रमुखको उपस्थितिमा सुरक्षा बैठक भएको थियो । बैठकमा भारतीय पक्षले त्यहाँको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा सजकता अपनाइदिन आग्रह गरेका थिए । नेपाली टोलीले पनि भारतीय निर्वाचनलाई ध्यान दिदै सीमा क्षेत्रमा निगरानी बढाउन थालेका हुन् ।
प्रहरी प्रमुख अधिकारीले भारतले चुनावको बेलामा सजकता अपनाइदिन आग्रह गरेको थियो । त्यसैले हामीले सीमामा निगरानी बढाएका छौ भन्नुभयो ।
प्रशासन र प्रहरीले सीमामा पुगेर सीमाक्षेत्रका स्थानीयसँग भेटेर उनीहरुको समस्या पनि बुझेका छन् । अर्को बैठकमा उनीहरुले जनताका समस्याका बारेमा पनि प्रस्तुत गर्ने बुझिएको छ ।