१५ वटा पानी उद्योग कारबाहीमा
नेपालगञ्ज – नेपालगञ्जमा मापदण्ड पूरा नगरेका दर्जन बढी पानी उद्योग कारबाहीमा परेका छन् । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पानीमा समेत लापरबाही गरेको पाइएको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार, मंसीरको तेस्रो साता गरिएको संयुक्त अनुगमनका क्रममा १५ वटा पानी उद्योग कारबाहीमा परेका हुन् । १५ वटामध्येमा ५ वटाको उत्पादन रोक्का, दुई वटालाई शिलबन्दी, दुई वटा नविकरण प्रक्रियामा आएको र ६ वटालाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन, खाद्य प्रविकि तथा गुण नियन्त्रण कार्यालय, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त टीमले मंसीर १७ देखि २६ गतेसम्म गरेको अनुगमनमा श्री नेपाल पानी उद्योग, ड्यु ड्रप डिं«किङ वाटर इन्डस्ट्रीज, सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रीज, जय माँ बैष्णवी पानी उद्योग, अनमोल ड्रिंकिङ वाटर इन्डस्ट्रीज, न्यू सगरमाथा पानी उद्योग, अक्वा नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रीज, एचओ ड्रिंकिङ वाटर इन्डस्ट्रीज, आरआर ड्रिंकिङ वाटर इन्डस्ट्रीज, आरम्भ ड्रिंकिङ वाटर इन्डस्ट्रीज, श्री पानी उद्योग, मुक्तिनाथ ड्रिंकिङ वाटर इन्डस्ट्रीज, जेके ड्रिंकिङ वाटर इन्डस्ट्रीज, न्यू लहर ड्रिंकिङ वाटर इन्डस्ट्रीज र जिया नेपाल ड्रिंकिङ वाटर इन्डस्ट्रीजले मापदण्ड पूरा नगरेका हुन् ।
कारबाहीमा परेका यी पानी उद्योगले मापदण्ड पूरा गरेर निवेदन दिएमा संयुक्त टोलीले पुनः अनुगमन गरेर मापदण्ड पुगेको खण्डमा सञ्चालन गर्न दिने प्रजिअ खत्रीले बताउनुभयो । उत्पादन रोक्का गरिएको श्री नेपाल पानी उद्योगले मापदण्ड पूरा गरेकाले पुनः अवलोकन गरेर रोक्का फुकुवा गरिसकिएको छ ।