कारबाहीमा पुनर्विचार गर्न खेलकुद मन्त्रीको आग्रह

काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनर्बिचार गर्न आग्रह गर्नुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनर्बिचार गर्न आग्रह गर्नुभएको हो ।
क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । क्यान र खेलाडी बिच देखिएको समस्या समाधानकालागि उपयुक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले
खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभयो ।
मन्त्री अथकले आगमी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभएको छ । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको बर्गिकरण प्रक्रियाका बिषयमा समेत चासो लिनुभएको थियो ।
गत मंसीर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।


error: यो सुविधा उपलब्ध छैन !