ब्राउनसुगर बोक्ने अनेक तरिका

नेपालगञ्ज – दाङ तुलसीपुरका गौरव बुढाथोकी जयसपुरमा स्कुटी राखेर सीमावर्ती भारतीय बजार रुपैडिहा गए । जयसपुर नेपालगञ्ज नाका जमुनाहादेखि करिव एक किलोमिटर नेपालगञ्जतर्फ पर्छ ।
गौरव साँझ ५ बजेतिर रुपैडिाहाबाट नेपालगञ्ज फर्किए । कुनै सामान नलिएका गौरव हिड्दै आइरहेका थिए । नेपालगञ्ज नाकामा चौविसै घण्टा बस्ने लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले गौरवलाई शंका ग¥यो । कुनै पनि सामान ल्याएको छैन । आखिर यो मान्छे किन रुपैडिहा गएर आयो ? प्रहरीले शंका घेरामा राख्यो ।
गौरवको शरीर छामछुम भयो । भित्री बस्त्र पेन्टीभित्र गौरवले दुई वटा पोका बनाएर लागु औषधी ब्राउनसुगर राखेका रहेछन् । प्रहरीले गौरवलाई नियन्त्रणमा लियो र ब्राउनसुगर तौलियो । ब्राउनसुगरको तौल ४८ ग्राम थियो ।
दाङबाट ब्राउनसुगर लिन नेपालगञ्ज हुँदै भारतीय बजार रुपैडिहा पुगेका गौरव प्रहरीको फन्दामा परे ।
गौरवले यसअघि तीन पटक यसरी नै भित्री बस्त्रमा राखेर लागु औषधी ब्राउनसुगर लगिसकेको स्वीकार गरेका छन् । रुपैडिहा र नेपालगञ्ज मानिसको आवतजावत भइरहन्छ । किनमेल गर्न जाने, आफन्ती भेट्न जाने भइरहन्छ । रुपैडिहा पुगेका व्यक्तिले कुनै न कुनै सामान लिएर आउँछन् । किनकी, नेपालीको मानसिक भनेको रुपैडिहामा सस्तो सामान पाइन्छ भन्ने रहेको छ ।
तीन पटक सफल भएको र आफ्नै स्टाइलमा कुनै सामान नलिई पेन्टीभित्र ब्राउनसुगर राखेर आइरहेका गौरव यसपटक प्रहरीबाट बच्न सकेनन् ।
गौरवले ४८ ग्राम ब्राउनसुगर एक लाख ६० हजारमा किनेर ल्याएका थिए । दाङमा लगेर महंगोमा बेच्ने उनको योजना थियो ।
पेन्टीभित्र ब्राउनसुगर बरामद भएको जमुनाहामा अर्को व्यक्तिको जुत्ताभित्र ७ ग्राम ब्राउनसुगर फेला प¥यो । बाँके राप्तीसोनारीका सुवास विक दाहिने जुत्ताभित्र राखेर ७ ग्राम ब्राउनसुगर ल्याउदै गर्दा पक्राउ परेका छन् ।
लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले इलाका प्रहरी कार्यालय, जमुनाहा हुँदै दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाएको छ ।
सीमावर्ती भारतीय बजारमा सस्तो र सहज रुपमा ब्राउनसुगर पाइने गर्दछ । रुपैडिहाको चकियारोड ब्राउनसुगर किनबेचको हब मानिन्छ । पछिल्लो समयमा भने बाबागञ्ज आसपासमा कारोबार भइरहेको छ । रुपैडिहादेखि बाबागञ्ज चार किलोमिटर टाढा पर्दछ । बाबागञ्जमा रुपैडिहामा भन्दा सस्तोमा ब्राउनसुगर पाइने कारोबारीहरु बताउँछन् । रुपैडिहाको चकियारोड होस् या बाबागञ्ज, नानपारा जहाँबाट ब्राउनसुगरको कारोबार भएपनि आइपुग्ने नेपालगञ्ज नै हो । नेपालगञ्जमा ल्याएपछि त्यो ब्राउनसुगरलाई देशका विभिन्न ठाउँमा पु¥याउने गरिन्छ ।
कारोबारीले ब्राउनसुगर ओसार्न फरक–फरक तरिका अपनाएको पाइन्छ । महिला या पुरुषको भित्री बस्त्र, नाका, कान, मुख, सवारी साधनको विभिन्न ठाउँमा ब्राउनसुगर राखेर ल्याउने गरेको पाइन्छ । जमुनाहा नाकामा चौविसै घण्टा बस्ने लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले कारोबारीलाई उसको हाउभाउका आधारमा चिन्ने गरेको छ । शंका लागेका व्यक्तिलाई भित्र लगेर जाँच गर्ने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !