नेपालगञ्जलाई साक्षर नगर घोषणाको तयारी
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणाको तयारी गरिएको छ । उपमहानगरपालिकाले त्यसका लागि प्रचार प्रसार, निरक्षरको तथ्यांक लिने र शिक्षक राख्नेलगायतको काम गरिरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा १५ हजार निरक्षर रहेको आकलन गरिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले दुई वर्षअघि सर्वे गर्दा नेपालगञ्जमा २० हजार मानिस निरक्षर रहेकोमा अहिले १५ हजार निरक्षर रहेको बताउनुभयो । ‘२०७६ सालमा गरिएको सर्वेमा २० हजार मानिस निरक्षर देखिन्छन् । यो बीचमा हामीले साक्षरका कक्षाहरु सञ्चालन गरेका छौं, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, अब १५ हजार निरक्षर छन् भन्ने हाम्रो बुझाई छ ।’
उपमहानगरपालिकाले साक्षर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । १५ देखि ६० वर्षका मानिसलाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिदैछ । त्यसका लागि एक सय ३० जना बाल शिक्षिकालाई तयार गरिएको छ । यो हप्ताभित्र सबै वडाअनुसार निरक्षरको तथ्यांक निकाल्ने र कहाँ कति वटा कक्षा सञ्चालन गर्नुपर्छ भन्ने फाइनल गरिदैछ ।
फाल्गुन मसान्तभित्र नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी भएको छ । यो अभियानका लागि ३० लाख रुपैया छुट्याइएको छ । निरक्षरलाई कम्तीमा आफ्नो नाम लेख्ने, हस्तक्षर गर्ने र अलिअलि पढ्न सक्ने बनाइदैछ । ‘सामाजिक सुरक्षा भत्ता लिन जादा ल्याप्चे लगाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, बाल शिक्षिकाहरुले ४५ दिन पढाउदा त्यति गराउन सक्छौ भनेका छन् ।’