७ सय १९ महिला तथा बालबालिका नेपालगञ्ज हुँदै कहाँ गए ?
नेपालगञ्ज – नेपालगञ्ज नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने आधा दर्जन संघ संस्था र प्रहरीका युनिट छन् । संघ संस्था र प्रहरीले शंकास्पद महिला तथा बालबालिकालाई नाकामै रोकेर सोधपुछ गर्ने गर्दछ ।
यत्रो ठूलो छेकबारलाई नाघेर यो नाकाबाट वर्षेनी ठूलो संख्याका महिला तथा बालिका भारत तथा तेस्रो मुलुकमा पुगेर ‘सम्पर्कविहीन’ भएको पाइएको छ । कुनै न कुनै बहानाबाट नाका पार गरेका ७ सय १९ जना महिला तथा बालिका यो आर्थिक वर्षमा सम्पर्कविहीन भएका छन् । मानव बेचबिखनविरुद्ध काम गर्ने नाकामा रहेका संघ संस्था र प्रहरी कार्यालयमा खोजतलासका लागि परेको निवेदनको संख्या हो ७ सय १९ वटा । यो निवेदन दिने घरपरिवारकै सदस्य छन् । धेरैजसो आफूखुशी हिडेको भएपनि सानो संख्या चाहि घरपरिवारकै सहमतिमा भारत तथा खाडी मुलुक पुगेको पाइन्छ । लामो समयसम्म आफ्नो मान्छे सम्पर्कमा नआएपछि उनीहरुले खोजतलासका संघ संस्था र प्रहरीमा उजुरी दिने गर्दछन् ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले चालु आर्थिक वर्षमा माइती नेपालमा ३ सय ६७, प्रहरी कार्यालयमा ३ सय ४८ र साना हातहरुमा चार वटा गरी ७ सय १९ वटा खोजतलासको निवेदन परेको जानकारी दिनुभयो । माइती नेपालमा परेको ३ सय ७६ वटा खोजतलासको निवेदनमा ७१ जना बाँके जिल्लाको रहेको छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको १५, कोहलपुरको २०, जानकीको २, राप्तीसोनारीको ६, बैजनाथ र खजुराको १३÷१३ र डुडुवा गाउँपालिकाको २ वटा निवेदन रहेको छ ।
खोजतलासका लागि परेकोमध्ये ४७ जनाको भारत तथा खाडीमुलुकबाट उद्धार गरिएको छ । भारत तथा खाडीमुलुकबाट शक्ति समूहले २८ जना, माइती नेपालले १६ जना र आफन्त नेपालले ३ जनाको उद्धार गरेका छन् । उद्धार गरिएका ४७ जनामा बाँकेका नौ जना रहेका छन् ।
पछिल्लो दिनमा मानव बेचबिखन तथा ओसारपसारको स्वरुप बदलिएको सम्बद्धहरु बताउँछन् । माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाका अनुसार, बैदेशिक रोजगार र शैक्षिक, झुठो विवाह, मनोरञ्जन, मानव अंग बेचबिखन, गर्भाशयको बेचबिखन रहेको छ । गाउँघरमा पुगेर गरीव, अशिक्षिकलाई मात्रै होइन, दलालले शिक्षिक र उच्च घरानाका महिला तथा बालिकालाई पनि बेचबिखन तथा ओसारपसार गरिरहेको मानव बेचबिखनविरुद्ध काम गरेका संघ संस्थाका प्रतिनिधिहरुको बुझाई रहेको छ ।
१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको क्रममा बुधबार नेपालगञ्जमा भएको कार्यक्रममा सरोकारवाला निकायले मानव बेचबिखन तथा ओसारपसार साझा समस्या भएकाले सबै एकजुट भएर त्यसको विरुद्धमा लाग्नु पर्ने बताए ।
विनरक इन्टरनेशनलको हाम्रो सम्मान परियोजनाका कमला पन्तले बाँकेका आठ वटा स्थानीय तहमध्ये चार वटामा मानव बेचबिखनविरुद्धको स्थानीय समिति र कार्यविधि तयार भएको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको स्थानीय समिति र कार्यविधि बनेका छन् ।
मानव बेचबिखन तथा ओसारपसारमा अभियुक्तलाई कारबाही गराउन अति नै गाह्रो हुने गरेको छ । पीडितले अन्तिममा बयान फेरिदिने ठूलो समस्या रहेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले प्रहरी र वकिलले राम्रो अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढेपनि अन्तिममा पीडितले नै बयान फेरिदिने बताउनुभयो । डीएसपी न्यौपानेले स्कूल स्कूलमा र सवारी चालकलाई मानव बेचबिखनविरुद्धको कार्यक्रममा सहभागी गराउनु पर्ने बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विक, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख झंकर रावल, नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख शोभा शाह, जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मालगायतले मानव बेचबिखन र ओसारपसारविरुद्ध एक भएर लाग्नु पर्ने बताउनुभयो । उहाँहरुले पालिकाहरुले बेचबिखन र ओसारपसारमा पर्न सक्ने क्षेत्र र बर्गको पहिचान गरेर त्यहाँ जनचेतनामूलक गतिविधि गर्नुपर्ने बताउनुभयो ।