डुडुवामा योजनाको अनुगमन
डुडुवा – डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरिरहेको छ ।
गाउँपालिकाद्धारा निर्मित विभिन्न ठूला तथा साना योजना अन्तर्गतका भौतिक पूर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार, सबै भन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।
गाउँपालिकाको प्रशासनिक भवनको निमार्णको काम करिब ८० प्रतिशत पुरा भएको छ । तिब्र गतिमा निर्माण भइरहेको भवन अब केही महिनाभित्रै संचालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिलाउनुभयो ।
गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको समूहले निर्माण सम्पन्न भएको वार्ड नं. ४ स्थित मस्जिद र नवनिर्मित वार्ड नंं ६ स्थित श्री सरस्वती मावि भंघोटनामा दुई कोठे भवनको अनुगमन गरिएको हो । वार्ड नं. ४ मोल्हुपुर्वामा मस्जिद निमार्णका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन २६ लाखको लागतमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।
पालिकाद्धारा हाल धमाधम विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भइरहेका छन् । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहितको जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख लगायतको समुहको सहभागिता रहेको थियो ।