नेपालगञ्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु
नेपालगञ्ज – नेपालगञ्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र, बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उद्घाटन गर्नुभयो । सहायक रथी पाठकले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली सेनाको भैरवप्रसाद गणले ब्याडमिन्टन लगायत जिल्लाका अन्य खेलकुदमा सघाउ पु¥याउदै आएको छ । सहायक रथी पाठकले भन्नुभयो, यस्ता प्रतियोगिताहरु सैनिक नागरिक सम्बन्धको अलौगिक, अनुपम र विजोड नमूना पनि हो । जिल्लाको खेलकुदमा भैरवप्रसाद गणले पु¥याएको योगदानको उच्च कदर गर्न चाहन्छु ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कोरोनाले गर्दा सुस्त भएका खेलकुद गतिविधिहरु सञ्चालन हुन थालेको बताउनुभयो ।
बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले ब्याडमिन्टन खेलमा बाँकको विशिष्ट भूमिका रहेको बताउनुभयो । उहाँले अहिलेसम्म बाँकेले १३ जना राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको जानकारी दिनुभयो ।
२५ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा ६ वटा विधामा प्रतिस्पर्धा भइरहेको छ । यु–१९ केटा, मेन्स डबल्स, यु–१९ केटी, मेन्स सिंगल, भेट्रान डबल्स, ओमन सिंगलमा प्रतियोगिता हुँदैछ । मेन्स सिंगल्समा राष्ट्रिय प्रतियोगिता खेलिसकेका दुई जना सेहरज अन्सारी र सुरज गुप्ता सहभागी भएका छन् । प्रतियोगितामा एक सय ४७ जना खेलाडीले भाग लिएका छन् ।