नेपालगञ्जमा प्रशान्त विष्ट विजयी
नेपालगञ्ज – नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिकाको नगर सभापतिमा प्रशान्त विष्ट विजयी भएका छन् ।
संस्थापन पक्षका उम्मेदवार विष्टले दुई प्रतिस्पर्धीलाई भारीमतले पराजित गरेका हुन् । विष्टले २ सय ४३ मत ल्याउदा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर समेत रहेकी उमा थापामगरले ७६ र तरुण दलका जिल्ला सचिव रहेका विनोद रिजालले ४१ मत ल्याएका छन् ।
३ सय ८२ मत रहेको नेपालगञ्ज उपमहानगरपालिकामा ३ सय ७७ मत खसेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको पक्षबाट प्यानल बनाएर चुनावमा उत्रिएका विष्टको प्यानल नै विजयी भएको छ । संस्थापन पक्षकै विनोद रिजालले प्यानल बनाएर चुनावमा उत्रिएका थिए । पौडेल-कोइराला पक्षबाट प्यानलबाट नगर सभापतिमा उम्मेदवार दिएकी नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाको प्यानल पराजित भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लाका आठ वटामध्येमा चार वटामा निर्वाचन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा मतदान भएको हो । बैजनाथमा देवबहादुर खत्री (केसी) विजयी भएका छन् । कोहलपुर र राप्तीसोनारीमा मतगणना शुरु गरिएको छैन ।