विद्यालय भवन उद्घाटन
डुडुवा – बाँके डुडुवा गाउँपालिका वार्ड नं. २, नौरीगौढीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ ।
बिहीबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उद्घाटन गर्नु भएको हो । त्यसक्रममा उहाँले गाउँपालिकाले उच्च शिक्षाका लागि पालिकाभित्रै एउटा क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउदै त्यसका लागि आधारभुत आवश्यकता तथा अध्ययन गरि क्याम्पस स्थापना गर्ने बताउनुभयो ।
अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकर्षण गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँमै क्याम्पस भएमा अध्ययन गर्न सहज हुने भन्दै आफ्ना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गर्नुभयो ।
डुडुवा गाउँपालिकाद्धारा २४ लाख आर्थिक सहयोगमा निर्माण भएको तीन कोठे भवन निर्माणपछि बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचनाको अभावमा पठनपाठनमा रहेको समस्याको अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको बताउनुभयो ।