चाडबाड मानेर काममा फर्किए नेपाली

नेपालगञ्ज – कामका लागि भारत फर्किने नेपालीको चाप बढेको छ ।
दशैं, तिहारजस्ता महान चाड मान्न घर आएका नेपाली फेरि कामका लागि भारत फर्किएका हुन् ।
नेपालगञ्ज नाकाबाट कामका लागि पुनः भारत फर्किने नेपालीको लर्को देखिन थालेको छ । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस मौसमी कामका लागि भारतको विभिन्न शहरमा जाने गर्दछन् । दैलेख, जाजरकोट, रोल्पा, रुकुम, सल्यान, प्यूठानका मानिस मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयागलगायतका ठाउँमा जाने गर्दछन् ।
दशैं र तिहार मनाउन आएका नेपाली चाडबाड सकिएपछि फेरि परिवारसहित भारततिर गइरहेका छन् ।
अहिले नेपालगञ्ज नाकाबाट दैनिक सात सय बढी मानिस भारततिर गइरहेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले हजार आसपासमा नेपाली भारततिर गइरहेको जानकारी दिनुभयो । ‘अहिले भारततिर गइरहेकाहरु चाडबाड मान्न आएका नेपाली हुन् । दशैं, तिहारजस्ता चाडबाड मानेपछि उनीहरु पुनः काममा फर्किरहेका छन्, इन्चार्ज विष्टले भन्नुभयो, दुई÷तीन दिनदेखि भारत जानेको चाप बढिरहेको छ ।’
नेपालगञ्ज नाकाबाट भारत जानेमा सबैभन्दा दैलेख र जाजरकोटका छन् । रुकुम, रोल्पा, सल्यान, प्यूठान जिल्लाका पनि छन् । आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने मानिस मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयाग जाने गर्दछन् । मौसमी कामका लागि जाने नेपाली चाडबाड र खेती लगाउने बेलामा घर फर्किन्छन् । बाँकी समय उतै काममा हुन्छन् ।
भारतका विभिन्न शहरमा मजदुरी गरेर फर्किने नेपालीलाई फेरि जानका लागि यतिबेला नेपालगञ्ज नाकाबाट भारतका विभिन्न शहरमा सिधैं गाडीको सुविधा रहेको छ । हरिद्वार, चण्डीगढलगायतका शहरमा नेपालगञ्जबाटै गाडी जाने गर्दछन् । उताबाट सिधैं नेपाली आउने र यहाँबाट पनि सिधैं ती शहरहरुमा नेपाली जाने भएकाले पछिल्लो समयमा बीच बाटोमा हुने लुटपाटका घटना रोकिएको छ ।
खोप, कोरोना जाँचलगायतका कारणले नेपालगञ्ज नाकामा यसपाली दशैंमा कालापहाडेसँग पैसा असुल्ने काम भएको थियो । त्यसको व्यापक विरोध भएपछि बाँके प्रहरीले इलाका प्रहरी कार्यालय, जमुनाहाको पुरै टीम नै परिवर्तन गरेको थियो । प्रहरीको सेट नै परिवर्तन गरेर बाँके प्रहरीले कालापहाडेको झोला जाँच नगर्न निर्देशन दिएको थियो ।
भारतका विभिन्न शहरमा मजदुरी गरेर कमाएको पैसालाई घरसम्म पु¥याउन कालापहाडेलाई सधैं गाह्रो हुने गरेको छ । विशेष गरेर नाका क्षेत्र र नेपालगञ्जमा लुटिने, ठगिने समस्या हुँदै आएको छ । कालापहाडेहरु पनि निरन्तर जाने आउने गरेपनि ठगिन छोडेका छैनन् । नेपालगञ्जसम्म आउदा रिक्साले कति रुपैया लिन्छ, होटलमा बस्दा कति खर्च लाग्छ भन्ने थाहा पाएर पनि उनीहरु ठगिरहेको पाइन्छ ।
साना बालबालिका काखमा च्यापेर अर्काको देशमा मजदुरी गर्न जाने नेपालीको नाकामा लर्को देख्दा जो कसैलाई दया लाग्न सक्छ । यतिबेला नाकामा दैनिक यस्तो दृश्य देखिन्छ । यो नाकाबाट हजारौं मानिस भारतमा काम गर्न जाने गर्दछन् । वर्षमा कुन जिल्लाबाट कति मानिस भारतमा काम गर्न जान्छन् त्यसको यकिन तथ्यांक कसैसँग छैन ।


error: यो सुविधा उपलब्ध छैन !