एमाले प्रवेश गर्दै मिश्र र खाँ
नेपालगञ्ज – नेकपा एमाले, बाँकेले मंसीर १ गते ठूलो संख्या एमालेमा प्रवेश गर्ने जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मंसीर १ गते बाँकेमा तीन हजार जना एमालेमा प्रवेश गर्ने एमाले, बाँकेले जनाएको छ ।
एमाले, बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपतिले पशुपतिदयाल मिश्र, करिम खाँ, गिरिजा पाठकलगायतको ठूलो टोली एमालेमा प्रवेश गर्ने जानकारी दिनुभयो ।
एमालेका केन्द्रीय सदस्य मो. हारुनले बाँकेमा एमालेलाई बलियो बनाउने अभियानअन्तर्गत पार्टी प्रवेशको गतिविधि भइरहेको बताउनुभयो ।
एमाले, बाँकेले मंसीर १ गते पार्टी अध्यक्ष ओलीको उपस्थितिमा हुने कार्यक्रम, दशौं अधिवेशनमा बाँकेबाट ५ हजार मानिस जानेलगायतका विषयमा पत्रकार भेटघाट गरेर जानकारी दिएको छ । एमालेले दशौं अधिवेशनका लागि कसैसँग चन्दा नउठाउने निर्णय गरिसकेको छ । उसले संगठित सदस्यसँग सय रुपैया लिने घोषणा गरिसकेको छ । पत्रकार भेटघाटमा नेताहरु रत्न खत्री, प्रमोद धिताल, भीम वली, अशोक श्रेष्ठ, दत्तप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेता मिश्रले एमालेले मधेशको मुद्दालाई प्राथमिकताका साथ उठान गरेकाले आफूलगायत मधेसी नेता तथा कार्यकर्ता आकर्षित भएको बताउनुभयो ।