प्रदेश अध्यक्षको दौडमा देवकोटा
नेपालगञ्ज – राप्रपाका युवा नेता ऋषिराज देवकोटा पार्टीको लुम्बिनी प्रदेश अध्यक्षका लागि जिल्ला दौडाहामा निस्केका छन् ।
तीन जनाले दाबेदारी गरेको प्रदेश अध्यक्षमा चुनाव जित्न देवकोटाको जिल्ला दौडाहा चलिरहेको छ । देवकोटाले मतदातालाई भेट्दै आफूलाई जिताउनु पर्ने कारणहरु बताइरहनु भएको छ । बाँकेबाट देवकोटा, रुपन्देहीबाट प्रदीप उदय र शक्ति सापकोटा अध्यक्षका लागि अघि सरेका छन् ।
राप्रपाको प्रदेश अधिवेशन आइतबार हुँदैछ । १२ जिल्लाका करिव ६ सय मतदाताले प्रदेशको नेतृत्व चयन गर्नेछन् ।
रुपन्देहीबाट दुई जना उम्मेदवार रहेकाले देवकोटालाई चुनाव जित्न सहज हुने उनी पक्षीय नेताहरु बताउँछन् । लक्ष्मी उच्च मावि, कचनापुरमा नौ कक्षा पढ्दा नै इकाई अध्यक्ष भएका युवा नेता देवकोटा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष, विद्यार्थी संगठनको दुई कार्यकाल उपाध्यक्ष, बाँके क्षेत्र नं. १ को क्षेत्रीय अध्यक्ष, युवक संगठनको केन्द्रीय उपाध्यक्ष, अहिले पनि युवक संगठनको वरिष्ठ उपाध्यक्ष, बाँकेको पार्टी अध्यक्ष, प्रदेशको सचिव र पार्टीको केन्द्रीय सदस्य भइसक्नु भएको छ ।
देवकोटाले पार्टी संकटका बेलामा समेत राजसंस्था र हिन्दु राज्यका लागि नझुकेकाले कार्यकर्ताहरुले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । ‘केही साथीहरु पार्टी संकटमा पर्दा अन्यत्र लाग्नु भयो । अहिले सहज हुँदा फेरि पनि पदकै लागि मरिहत्ते गरिरहनु भएको छ, देवकोटाले भन्नुभयो, कार्यकर्ताले यो कुरा बुझ्नु हुन्छ भन्ने लाग्छ ।’