नेपालको क्रिकेट
कोलकाताबाट कोहलपुर आउँदा मलाई केही कुराले पिरोलेको थियो भने त्यो क्रिकेट करियर थियो । उताको तुलनामा नेपालमा क्रिकेट शून्यजस्तै थियो । नेपालगन्जमा फाट्टफुट्ट खेलिन्थ्यो, कोहलपुरमा देख्नै मुस्किल थियो ।
प्रतियोगिता देख्न रहरै हुन्थ्यो । मलाई भने क्रिकेटको नशाले छोडेन । कोही नभेटिएपछि मैले स्कुले किशोरहरू बटुलेर क्रिकेट खेल्न थालेँ । उनीहरूमा उत्सुकता जगाएँ । भारतमा पाएका मेडलहरू देखाएँ, कतिपय बाँडिदिएँ । शनिबार र बिदाको दिन बिस्तारै क्रिकेट खेल्ने माहोल बन्दै गयो । दाइ, मदन रावत, हरि थापा, प्रकाश खनाललगायतका साथीहरू जुटेर क्रिकेट खेल्न थाल्यौँ । एक जना बीरगन्जका व्यवसायीका छोरा थिए, उनको नाम यतिबेला याद भएन । उनी पनि हाम्रो टिममा जोडिए । अहिले इलाका प्रहरी कार्यालय रहेको ठाउँ खुला चौर थियो ।
त्यो हाम्रा लागि क्रिकेट मैदान बनेको थियो । मैले रामजानकी स्कुलका ८ र ९ कक्षाका विद्यार्थीलाई पनि सहभागी गराएँ । प्रीतम राजभण्डारी, दीपक क्षेत्री, मोहनसिंह घर्ती, होमेन्द्र क्षेत्री, दिनेश सिग्देल र खोमराज रमाली आउँथे ।
चटारका रन्जित राणा खेलका सोखिन थिए । उनीहरू तीन भाइ थिए, दिनेशजङ्ग, रन्जित र राम । उनीहरू सिकार गर्न आउँथे । जेठो दाइ यामबहादुर क्षत्रीले रन्जित दाइसँग कुरा गर्नुभएछ, राम्रो क्रिकेट खेल्छ भनेर ।
रन्जित दाइले नेपालगन्जमा क्रिकेट खेल भइरहने सुनाए । त्यो सुनेर मलाई नेपालगन्जको क्रिकेट खेल्ने रहर जाग्यो । कोहलपुर आएको डेढ वर्षसम्म औपचारिक रूपमा क्रिकेट खेल्नै पाएको थिइनँ ।
रन्जितले सुनिलसिंह हमाल ‘मम्मु दाइ’लाई मेरोबारे भनेछन् । मम्मु दाइले भनेछन्, ‘ठीकै छ, पठाइदिनु न । हाम्रो एक हप्ताको अभ्यास पनि चलिरहेको छ ।’ रन्जित दाइले त्यो सन्देश ल्याए । त्यो वास्तवमा मेरा निम्ति नेपाली क्रिकेटमा आउने निम्तोसरह भइदियो ।
२०५२ असोज । म स्कुलको समय मिलाएर नेपालगन्ज गएँ । मङ्गलप्रसाद माविमा अभ्यास खेल भइरहेको थियो । एक छेउमा उभिएर केहीबेर खेल हेरेपछि मैले सोधेँ, ‘सुनिलसिंह हमालजी आउनु भएको छ रु’ त्यो दिन मम्मु दाइ आएका रहेनछन् । म फर्किहालेँ ।
भोलिपल्ट फेरि गएँ । मम्मु दाइसँग भेट भयो । मैले रञ्जित दाइले पठाएको बताएँ । उनले चासोका साथ हेरे र सोधे, ‘ए तपाईं हो रु कहाँ कहाँ खेल्नु भयो रु’
मैले कोलकाताको खेल इतिवृत्तान्त सुनाएँ । भारतमा फस्ट डिभिजन लिग क्रिकेट खेलिसकेको भन्दा मम्मु दाइले सायद पत्याएनन् । फेरि सोधे, ‘ब्याटिङ कि बलिङ रु’ मैले भने, ‘दुवै ।’
उनले सकारात्मक सङ्केत दिए, ‘ठीकै छ, उभिनूस् । अभ्यास गर्नूस् ।’
म तयार भएँ, उभिइरहेँ । त्यो दिन पालो आएन । बल र ब्याट नछोएरै घर फर्किएँ ।
तेस्रो दिन पनि म समयमै पुगेँ । मलाई पानी ल्याउन अह्राइयो । पानी ल्याएर हालेँ, पिच सफा गरेँ । यसो गर्नु मेरा लागि सामान्य थियो । म खेलाडी मात्र नभई कोचसमेत भइसकेकाले सहज रूपमा लिएँ । यो दिन अन्तिमतिर मात्र मैले बलिङ गर्न पाएँ । तीन ओभरजति बल फालेँ । त्यो दिनको अभ्यास सकियो ।
अन्तिम दिन टिमको छनोट गर्ने कार्यक्रम थियो क्यारे । मलाई ब्याटिङ पनि गर्न दिइयो । भैरहवामा सिद्धार्थ कपमा खेल्न नेपालगन्ज–११ टिम बन्दै रहेछ । मैले अलि चासो दिएँ । मम्मु दाइले आवश्यक परे तपार्इंलाई खबर गर्छांै भनेर पठाए । त्यतिबेला राम्रो स्पिनरमा जावेद सिद्दिकीको नाम आउँथ्यो ।
दीपेन्द्रप्रताप सिंह तीव्र गतिको बलरमा गनिन्थे । खगेन्द्र कुँवर, राजन सिंह पनि राम्रा खेलाडी थिए ।
सिद्धार्थ कपका लागि टिम छनोटमा पर्ने आशामा थिएँ तर कुनै खबर आएन । पछि थाहा भयो, नेपालगन्ज–११ भाग लिएर पनि फर्किसकेछ । म नेपालगन्जका क्रिकेटरको सम्पर्कमा थिएँ । एमपी स्कुलको मैदानमा नियमितजसो जान्थेँ । अभ्यास गरेर फर्किन्थेँ । रामजानकीमा प्रधानाध्यापकको जिम्मेवारी छँदैथियो । प्रधानाध्यापक नै खेलाडी छनोटमा भाग लिएको देखेर धेरैले अनौठो मानिरहेका थिए । मैले शिक्षण र खेललाई सँगसँगै अघि बढाएँ ।
२०५२ मंसिर २५ गते छोरी जन्मिइन् । पहिलो सन्तानका रूपमा घरमा लक्ष्मी भित्रिएको भनेर सिङ्गो परिवारमा हर्ष छायो । आमा झन् खुसी हुनुहुन्थ्यो । न्वारनमा नाम पाइन्, प्राची । त्यसै दिन नेपालगन्जबाट फोन आयो, ‘कलैया खेल्न जान तपाईं तयार बस्नु होला ।’ मलाई एकैदिन दुई खुसी हात परेझैँ भयो ।
प्राची अहिले अस्टे«लियामा पढ्दै छिन् । हरेक वर्ष मंसिरमा उनको जन्म दिन आउँदा मलाई नेपाली क्रिकेटमा ढोका खुलेको त्यो दिनको सम्झना आइरहन्छ ।
नेपाल फर्किएपछि मैले क्रिकेट खेल्ने मौकै पाएको थिइनँ । कसलाई भन्ने रु कहाँदेखि सुरु गर्ने रु एउटा अन्योलमा झन्डै डेढ वर्ष गुजारेँ । तर, छोरीको न्वारनको दिन नेपालगन्जबाट आएको फोनले बेग्लै उत्साह भरिदियो । न्वारन सकेर म ब्याग प्याक गर्न थालेँ । आमा, शान्ति, दाइ सबैलाई कलैया खेल्न जाने अवसर पाएको खुसी सेयर गरेँ । शान्तिले हल्का नरमाइलो मानिन् ।
सुत्केरी जीवनसाथी अनि न्वारनकै दिन छोरीलाई छाडेर जान मन त मलाई पनि कहाँ थियो र रु म उनको मुस्कानभित्रको भाव राम्ररी बुझ्थेँ । तर, न क्रिकेटको गुमेको खुसी बटुल्न कलैया जाँदै थिएँ । त्यसैले केही कुराले पनि मेरा पाइला रोकेनन् ।
नेपालमा पहिलोपल्ट क्रिकेट खेल्न जान लागेको खबरले सिङ्गो परिवार नै खुसी भयो । राम्रो क्रिकेट खेल्दा खेल्दै छुटाएर स्वदेश ल्याएकामा आमा र दाइलाई पछुतो लाग्न थालेको थियो । त्यस्तोमा क्रिकेट अवसरले नयाँ आशा जगाएको थियो ।
अर्को दिन बिहानै हामी कलैया हिँड्यौँ । म भित्रभित्रै उत्साहित थिएँ
किनभने म नेपालमा पहिलोपल्ट प्रतियोगिता खेल्दै थिएँ । टिममा जमिल अन्सारी, दीपेन्द्रप्रताप सिंह, गणेशबहादुर शाही, राजेन्द्र सिंह, अक्रम सिद्दिकी, अरूण थापा, इम्तियाज सिद्दिकी, सुनिलसिंह हमाल थिए । यी सबै प्रतिभाशाली खेलाडी हुन् । जमिल र दीपेन्द्र नेपाली राष्ट्रिय टिमकै प्रशिक्षकको जिम्मेवारीमा पुगे । गणेशले नेपाली टिमको कप्तानीसमेत गरे । अक्रम, अरूण र इम्तियाज पनि राम्रा खेलाडी निस्किए । सुनिलसिंहले त झन् धेरै भूमिका निभाए ।
राजनीतिमा पनि संलग्न भए । अहिले नेपालगन्ज उपमहानगरपालिकामा वडाध्यक्ष निर्वाचित छन् ।
टिममा मेरो छनोट सहजै भएको रहेनछ । जावेद सिद्दिकी अचानक बिरामी भएछन् । उनको ठाउँमा स्पिनर चाहिएपछि साथीहरूले मलाई सम्झिएका रहेछन् । जेहोस्, मैले नेपाली क्रिकेटमा डेब्यु खेल्न पाएँ ।
त्यो सत्यनारायण अग्रवाल मेमोरियल क्रिकेट प्रतियोगिता थियो । दिनेश अग्रवालले आफ्नो बुबाका नाममा प्रतियोगिता गराएका थिए । कलैया क्रिकेट क्लबसँग हाम्रो पहिलो म्याच थियो । म्याटमा खेल भएको थियो । मैले राम्रो ब्याटिङ गरेँ । मेरो खेल हेरेपछि अजय चौरासियाहरूले चर्चा गरेछन् । बलिङ पनि राम्रै भयो, टिमले पनि जित्यो ।
हाम्रो टिमलाई देवकीनन्दन धर्मशालामा राखिएको थियो । त्यहाँ मेरो सानोतिनो चर्चा भएछ । ‘भारतमा खेलेर आएको केटा रहेछ, बहुत राम्रो खेल्दो रहेछ’ स्थानीय क्रिकेटरले टिप्पणी गरेछन् । हाम्रो अर्को म्याच खुकुरी क्रिकेट क्लबसँग थियो । खुकुरी भैरहवाको मात्र होइन, नेपालकै पुरानो क्लबमा गनिन्छ, नेपालगन्जको रोयल क्रिकेट क्लबजस्तै ।
खुकुरी क्रिकेट क्लबलाई पनि हामीले पराजित ग¥यौँ । संयोग फाइनलमा हाम्रो भेट खुकुरीसँगै भयो । लिगमा जितेको नेपालगन्ज–११ टिम फाइनलमा भने पराजित भयो । तर, हामीले दर्शक र खेल पदाधिकारीको मन जित्यौँ । मेरो र गणेशबहादुर शाहीको जोडीलाई धेरैले रुचाए । त्यो प्रदर्शनबाट खुसी भएर केहीले त नास्ता नै खुवाए । कलैयाका एक फ्यानले नेपालगन्जका खेलाडीका लागि होटल फ्रि गरेका थिए । साथीहरूले राम्रै खानपिन गरे, नाचगान र होहल्ला गरे । प्रतियोगिता नजिते पनि उपविजेताको चर्चा धेरै थियो ।
त्यतिबेला विनोद दास भर्खर किशोरावस्थामा थिए । उनी पनि त्यो खेल हेर्न आएको पछि थाहा पाएँ । जो पछि नेपाली राष्ट्रिय टिमका राम्रा कप्तान बने । हाम्रो खानाको व्यवस्था स्थानीय मदन होटलमा गरिएको थियो । त्यो होटलका सञ्चालक विनोद दासका बुबा थिए । विनोदका बुबा पनि क्रिकेटका फ्यान रहेछन् ।
प्रतियोगिता सकिएपछि यातायात र खाजा खर्चबापत प्राप्त रकम बाँडफाँट गरियो । पैसा बाँडफाँट गर्दा खेलाडीले व्यवस्थापक र प्रशिक्षकलाई दिनुपर्ने भनियो । हाम्रो सबै हिसाब जमिल अन्सारीले राख्थे । उनी त्यतिबेला नगर विकास समिति कोहलपुरका नायब सुब्बा थिए । मलाई हिसाब चित्त बुझेन ।
भारतमा व्यावसायिक क्रिकेट खेलेर आएको मलाई यहाँको व्यवस्थापन पनि राम्रो लागेन । पैसामा चित्त नबुझेपछि मैले पैसा लिइनँ । त्यो घटनापछि केही साथीहरू रिसाए ।
(नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीको कप्तान १९९८ पुस्तकबाट । यो पुस्तक पढ्न चाहनेले ९८५१०९३२३४ सम्पर्क गर्नुहोला ।)