राँको बालेर मेला हेर्न जान्थ्यौ

दसैँ, भुव, होरी र विभिन्न मौसमी चाडपर्वमा राम (मेला) हेर्न जान्थ्यौँ । दुई-तीन घन्टा उकालो हिँडेर राति–राति जात्रा हेर्न जान्थ्यौँ । डेडुको डाँडा, पातल, तडीगैरामा जात्रा लाग्थ्यो । जात्रा भन्नासाथ राम हेर्ने, भेटघाट गर्ने र मिठा परिकार किनेर खाने भन्ने दिमागमा आउँथ्यो । राति टर्चलाइट वा राँको बालेर मेला स्थलमा पुग्थ्यौँ । त्यहाँ पुग्दा थकाइ र भोक लागेर लखतरान परिन्थ्यो । तर, मेलाको माहोलले केहीबेरमै थकान भुलिन्थ्यो । मेला वरपर अनेक परिकार पाकिरहेका हुन्थे । मन परेको कुरा पेटभरि खान आफूसँग पैसा हुँदैनथ्यो । जात्रा जाँदा मुमाले सुन्दुक (काठको बाकस) बाट पाँच-दस रुपैयाँ झिकेर दिनुहुन्थ्यो । मेला भर्न पैसा दिएको बुबाले थाहा पाए गाली गर्नुहुन्थ्यो सायद । त्यसैले मुमाले लुकाएर पैसा दिनुहुन्थ्यो । चिया दोकानबाट मैले पाँच-दस रुपैयाँ चोरेर मेलाका लागि छुट्याएर राख्थेँ । त्यति रकमले जात्रामा पेटभरि खान पुग्ने कुरा भएन ।
जात्रामा सबैभन्दा बढी केरा, स्याउ, जलेबी, पुरी र आलुको तरकारी बिक्री हुन्थ्यो । साथीसँगी साथै भएर हो वा लामो बाटो हिँडेर आएर हो, पुरी–तरकारी नि रातको समयमा जति खायो, त्यति मीठो लाग्थ्यो । के हालेर यति मीठो बनाउँछन् जस्तो लाग्थ्यो ।
मेला–जात्रा र देउडा एकअर्काका परिपूरक जस्तै थिए । केटा पक्ष र केटी पक्षका बीचको देउडा (दोहोरी) निकै रोचक हुन्थ्यो । कसले के गीत गायो रु अर्कोले के जवाफ फर्कायो रु महिनौँसम्म गाउँमा चर्चा चलिरहन्थ्यो । देउडा गाएरै युवकयुवतीको बिहे हुन्थ्यो । अनेक छेडखान गर्थे । देउडा गाएर र नाचेरै छर्लङ्गै रात कट्थ्यो ।
देउडा अछामको मात्र नभई सिङ्गो सुदूरपश्चिमको प्रमुख संस्कृति मानिन्छ । देउडा संस्कृतिले सिङ्गो सुदूरपश्चिम प्रदेशलाई बाँधेको छ । घाँस दाउरा गर्न जङ्गल जाँदा होस् वा गोठालो जाँदा एक्लै वा सामूहिक रूपमा जहाँ पनि देउडा गाइन्थ्यो । चिनजान भएका वा नभएका महिला–पुरुषका बीचमा पनि देउडाको माध्यमबाट चिनजान र भलाकुसारी गर्ने चलन थियो । देउडाका विभिन्न भाखा छन् । देउडा मायाप्रेम साटासाटको माध्यम पनि बन्ने गथ्र्यो । देउडा गीतको माध्यमबाट सुखदुःख, संस्कृति र परम्पराको उजागर गर्ने गरिन्थ्यो, अचेल पनि गरिन्छ ।
देउडा गाउँदै महिला र पुरुष हातमा हात समाएर नाँच्छन् । दसँै, धार्मिक तथा सांस्कृतिक मेलापर्वमा धेरै देउडा नाच हुने गर्छ । डेउडा गीत गाउने मुख्य पुरुषलाई खेलाउडो र महिलालाई खेलाउडी भनिन्छ । म पनि देउडाको सौखिन गायक हुँ । देउडा ननाचेको सुदूरपश्चिमी त को होला र ?
चाडपर्वमा महिला र पुरुषबीच रातभरि देउडा दोहोरी र नाच चल्छ । त्यस्ता दोहोरी कुनै बेला दुई दिन–दुई रातसम्म निरन्तर चल्थे भन्ने पुस्ता अझै छ । रात छर्लङ्गै भएको त आफँैले देखियो, रमाइयो । देउडा गीत गाउँदा र नाच्दा केटा–केटी जुन पक्षले जित्छन्, उसले विवाह गरेर साथमा लैजान्थे । केटाले जिते केटी र केटीले जितेमा केटा उसँग जानु
पथ्र्यो ।
गाउँबस्तीका पुराना प्रेमकहानी र प्रेमविवाहमा कतै न कतै देउडा जोडिइहाल्थ्यो । उमेर पुगेका केटाकेटीलाई देउडाले नै नजिक ल्याउँथ्यो र प्रेम सम्बन्ध टुसाउँथ्यो । देउडाले जोडेका थुप्रै जोडी मैले देखेको छु । हाम्रै गाउँमा पनि देउडा गीत जितेर अन्तरजातीय विवाह गरेका छन् ।

(नेपालगञ्जका चर्चित कानून व्यवसायी लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट लिइएको अंश हो यो । क्रियटिभ बुक्सले प्रकाशन गरेको यो पुस्तक पढ्न चाहेमा ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !