जहाजले बँदेलको पाठोलाई ठक्कर दिएपछि…
नेपालगञ्ज – नेपालगञ्जदेखि हुम्ला जान थालेको सीता एयरको जहाजले बँदेलको पाठालाई ठक्कर दिएको छ ।
नेपालगञ्ज विमानस्थलबाट विहान ७ बजे हुम्ला जान थालेको ९ एन एएचबी एयरले धावनमार्गबाट उठ्ने बेलामा बँदेलको पाठोलाई ठक्कर दिएको हो । जहाजको ठक्करबाट तीन वटा बँदेलको पाठो मरेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
चालकदलसहित १७ जना यात्रु राखेर जहाज हुम्लाका लागि उड्दै थियो । धावनमार्गबाट उड्ने बेलामा जहाजले बँदेलको पाठोलाई ठक्कर दिएको थियो । बँदेलको पाठोलाई ठक्कर दिएको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । चालक दलसहित सबै यात्रु सकुशल रहेका छन् । जहाजको अगाडिको नोजल गेयर भाँचिएको छ ।
दुर्घटनामा परेको जहाजलाई रन वेबाट बाहिर निकालेर नियमित उडान सञ्चालन गरिसकिएको छ । नेपालगञ्ज विमानस्थलको उत्तरतर्फ झाडी रहेकाले त्यहाँ बँदेल रहेका छन् । यसअघि पनि जहाजले बँदेललाई ठक्कर दिने गरेको थियो । बँदेलसँग ठोक्किएर ठूलो दुर्घटना भइसकेको छैन । नेपालगञ्ज विमानस्थलमा जंगली जनावरले सधैं चुनौती दिइरहेको छ ।