बाँकेको यु–१८ को फुटबल टीम बनाउदै युवराज
नेपालगञ्ज – बाँकेमा यु–१८ को फुटबल टीम बनाउन थालिएको छ ।
एन्फा प्रशिक्षक युवराज शाहीले जिल्लाभरीका किशोरहरुलाई जम्मा पारेर प्रशिक्षण दिइरहेका छन् । पाँच दिनको प्रशिक्षणपछि २७ जना छनौटमा परेका छन् । जिल्लाको यु–१८ टीममा पर्नका लागि एक सय ३० जना किशोर प्रशिक्षणमा आएका थिए ।
एन्फा प्रशिक्षक शाहीले पाँच दिनको प्रशिक्षण पछि एक सय ३० जनाबाट २७ जना छनौट गरेको जानकारी दिनुभयो । ‘अझै छनौटका चरण बाँकी नै छन् । २७ जनाबाट पनि फिल्टर गरेर जिल्लाको एउटा टीम बनाउँछु, प्रशिक्षक शाहीले भन्नुभयो, टीम तयार भएपछि नियमित प्रशिक्षण दिने योजनामा छु ।’
बाँकेमा फुटबल प्रतियोगिता आव्हान भएपछि खेलाडी टिप्पन–टाप्पन गरेर टीम बनाउनुपर्ने अवस्था रहेको छ, चाहे त्यो सिनियर टोली होस् या जुनियर । प्रशिक्षक शाहीले यु–१८ को टीम बनाएर नियमित प्रशिक्षण दिने बताउनुभयो । ‘कही प्रतियोगिता खेल्न जानु पर्ने भयो भने टीम खोज्न नपर्ने गराउन लागि परेको छु, प्रशिक्षक शाहीले भन्नुभयो, अहिले बनाएको किशोरको टीमले केही वर्षपछि जिल्लाकै नेतृत्व गर्नेछन् ।’
यसैबीच, बाँके र कालिकोटको यु–१८ को टोलीले नेपालगञ्ज रंगशालामा मैत्रीपूर्ण फुटबल म्याच खेलेका छन् ।
उक्त मैत्रीपूर्ण खेलमा बाँकेको टोली ३–१ गोलले विजयी भएको छ । शुरुवाती अग्रता भने कालिकोटले लिएको थियो । बाँकेको टीम कम्ब्याक गर्दै विजयी भएको थियो । बाँकेको टीमले लगाएका जर्सी जापानमा बस्ने सुशील मल्ल र नविन वलीले सौजन्य गरेको एन्फा प्रशिक्षक शाहीले जानकारी दिनुभयो ।
उक्त मैत्रीपूर्ण म्याचको अतिथिमा एन्फा लुम्बिनीका उपाध्यक्ष एवं रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, एन्फाका पूर्वउपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाका मेजर सुरेन्द्र रोक्कालगायत रहेका थिए ।