कोरोना बिमा रकम माग गर्दै अदालतमा मुद्दा
नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै विमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।
दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि विमितहरु अदालतको शरणमा पुगेका हुन् । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा विमितको तर्फबाट सात जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानून व्यवसायी र अधिकारकर्मीले विमितको तर्फबाट मुद्दा दायर गरेका छन् । उनीहरु आफै पनि पीडित हुन् ।
बारका उपाध्यक्ष सुनिल श्रेष्ठ, बार नेपालगञ्जका पूर्वअध्यक्षहरु लोकबहादुर शाह, बलबहादुर चन्द र विकास आचार्य, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, अधिवक्ताद्वय बसन्त गौतम र विश्वजित तिवारीले दश जना विमितको तर्फबाट मुद्दा दायर गरेका छन् ।
बिमा कम्पनीले सम्झौता बमोजिम बिमाको रकम दिएका छैनन् । बिमा कम्पनीहरुमा रकम माग गर्दा ‘केही समयपछि भैहाल्छ नि’ भन्ने झुलाउने काम भइरहेको छ । कतिपय बिमा कम्पनीले सरकारबाट अनुदान आएपछि दिने बताउदै आएका छन् ।
नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले विधि प्रक्रिया पु¥याएर बिमाको रकम माग गर्दा झुलाउने काम भएको बताउनुभयो ।
नेपालमा २५ वटा बिमा कम्पनीले कोरोना बिमा गरेका छन् । बाँकेमा त्यसका २० वटा शाखा रहेको बुझिएको छ । बिमितले रितपूर्वक कागजात पेश गरेको सात दिनभित्र बिमा रकम दिनु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । बिमा लेखको अवधि बिमा लेख शुरु भएको मिति देखि २०७८ असार मसान्तसम्म हुनेछ भनिएको छ ।