योजनाका काम छिटो सक्न मेयर राणाको निर्देशन
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले चालु आर्थिक वर्ष २०७८-७९ का योजनाको काम छिटो भन्दा छिटो पुरा गर्न मातहतका प्राविधिक तथा कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
उपमहानगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको संयुक्त बैठकमा नगर प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले सम्पूर्ण आयोजनाहरुको काम छिटो भन्दा छिटो गुणस्तरयुक्त रुपमा सम्पन्न गर्न अहिलेदेखि जुट्न निर्देशन दिनुभयो ।
नगर प्रमुख राणाले समयभित्रै काम सम्पन्न नगर्ने र निर्माण कार्यमा सन्तोषजनक प्रगति गर्न नसक्ने निर्माण कम्पनीलाई नियमानुसार कारबाहीको प्रक्रिया तत्काल सुरु गर्न निर्देशन दिनुभयो ।
राणाले नगरभित्र सञ्चालित सम्पूर्ण आयोजनाहरुको कार्य प्रगतिबारे जानकारी लिदै अधुरा आयोजनाहरु पनि छिटो भन्दा छिटो सम्पन्न हुने वातावरण बनाउन आग्रह गर्नुभयो । आयोजनाहरुको लागत स्टिमेट, बोलपत्र आव्हान लगायतका बाँकी रहेका कामहरु पनि छिटो भन्दा छिटो सम्पन्न गरी छिटो काम सञ्चालन गर्न नगर प्रमुख राणाले आग्रह गर्नुभयो ।
सो अवसरमा नगर उपप्रमुख उमा थापा मगरले नगरभित्र महत्वपूर्ण कामहरु सञ्चालन भइरहेको भन्दै निर्माण कार्यमा कुनैपनि खालको समस्या हुन नदिने गरी काम समयभित्रै हुने वातबरण बनाउन कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिनुभयो ।