रातभरी नदीमा फसेका चार जनाको उद्धार

नेपालगञ्ज – राप्ती नदीपारी फसेका चार जनाको विहान उद्धार गरिएको छ ।
वनकरेली टिप्न राप्तीपारी गएका डुडुवा गाउँपालिका वडा नं. ४ का चार जनालाई विहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका हुन् ।
डुडुवा–४, खालेमसाहका ५५ वर्षीय सौखत नाउ, ४५ वर्षीय सब्बीर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नजिर खाँ बाढीमा फसेका थिए । सोमबार अपरान्ह नदी पारी गएका उनीहरु बाढी आएपछि फसेका थिए । सात जना नदी पारी गएकोमा नदीको सतह बढ्न थालेपछि तीन जना साँझ नै घर फर्किएका थिए । चार जना नदी तर्न नसकेर फसेका थिए । साँझ नै प्रहरीलाई खबर गरेपनि रात परेकाले उद्धार हुन सकेको थिएन । बाढीमा फसेकाहरु रुखमा चढेर बसेकाले सकुशल रहेको जानकारी पाएकाले आज विहान उद्धार गरिएको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले नदी पारी गएका चार जना रातभरी फसेको र विहान उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रबर बोट, लाइफ ज्याकेट लगाएर उद्धार गरेको जानकारी दिनुभयो । ‘उनीहरु रातभरी रुखमा चढेर बसेछन् । विहान उद्धार गरियो, प्रवक्ता न्यौपानेले भन्नुभयो ।
आइतबारदेखि परेको पानीले नदी, नालाको सतह बढेको छ । जिल्ला विपद व्यवस्थापन केन्द्रका अधिकृत रुपन ज्ञवालीले राप्ती नदीको सतह बढ्दा पारी गएका चार जना रातभरी फसेको जानकारी दिनुभयो ।
यसैबीच, निरन्तर परेकाले पानीले धानबालीमा ठूलो असर गरेको छ । पाकेर काट्न ठिक्क परेको तथा कतै काटिसकेको धानबालीलाई पानी ठूलो नोक्सानी पु¥याएको छ ।


error: यो सुविधा उपलब्ध छैन !