कोरोनाबाट एकको मृत्यु, २१ जना थपिए
नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमित रुकुम पश्चिमका ७६ वर्षीया महिलाको मृत्यु भएको छ ।
भदौ १४ गते पीसीआर गरेर त्यही दिन भर्ना भएकी त्रिवेणी गाउँपालिका वडा नं. ६ का ७६ वर्षीया महिलाको सोमबार विहान ९.३० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ४ सय १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
फोकलपर्सन वलीका अनुसार, सोमबार बाँकेमा २१ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये बाँके जिल्ला निवासी ११ जना रहेका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ५७ जनाको परीक्षण गर्दा २१ जना थपिएका हुन् । भेरी अस्पतालमा एक सय ५ जनाको परीक्षण गर्दा १९ जना, कोहलपुर मेडिकल कलेजमा २३ जनामा एकजना र बागेश्वरी ल्याबमा २९ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो ।
बाँकेमा सक्रिय संक्रमित एक सय ७ जना पुगेका छन् । अस्पतालहरुमा १६ जना सिकिस्त, २९ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमबार पाँच जना डिस्चार्ज भएका छन् ।