पहिलो खोप लगाएका एघार हजारले दोस्रो डोज लगाएनन्

नेपालगञ्ज – शिक्षामा खुब सुनिने शब्द हो, ‘ड्रपआउट’ । भर्ना भएर विचैमा विद्यालय छोड्नेलाई ‘ड्रपआउट’ भन्ने गरिन्छ ।
हो यो ‘ड्रपआउट’, बाँकेमा कोरोना खोपमा पनि भएको छ । पहिलो डोज लगाएका एघार हजार मानिस ‘ड्रपआउट’ मा परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार, बाँकेमा ९२ हजार २ सय ७४ जनाले पूर्ण खोप लगाएका छन् । यो २६ प्रतिशत हुन आउँछ । जिल्लामा एक लाख ३ हजार ३ सय ७९ जनाले एक डोज खोप लगाएका छन् । एक डोज लगाउने २९ प्रतिशत छन् । तथ्यांकलाई हेर्दा पहिलो डोज लगाएका एघार हजार एक सय ५ जनाले दोस्रो डोज लगाएका छैनन् । यी ‘ड्रपआउट’ मा परेका छन् ।
जिल्लामा कोभिशिल्ड र एस्ट्राजेनिका गरेर ३० हजार ७ सय ६ डोज आएकोमा २४ हजार एक सय ७ जनाले मात्रै दोस्रो डोज लगाए । ६ हजार ६ सयले दोस्रो डोज लगाएनन् ।
बाँकेमा शुरुमा नौ हजार ८ सय ३३ जनाले कोभिशिल्ड पहिलो डोज लगाए । यिनीहरु ‘फ्रन्टलाइनर’ थिए । यहीमध्येका ११ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाए । यसमा दोस्रो डोज लगाउने थपिए । ६५ वर्षमाथिका २० हजार ८ सय ७३ जनाले पहिलो डोज लगाए । दोस्रो डोज लगाउने १२ हजार ९ सय ४४ जनामा झरे । ६५ वर्षका ७ हजार ९ सय २९ जनाले दोस्रो डोज लगाएनन् । कोभिशिल्ड लगाएकाले एस्ट्राजेनिका लगाउने भनिएको र लामो समय ग्याब रहेकाले धेरैले दोस्रो डोज नलगाएको आशंका गरिएको छ । पहिलो डोज कोभिशिल्ड लगाएकालाई पछि एस्ट्राजेनिका लगाइएको थियो ।
जिल्लामा ४१ हजार ९ सय ८८ जनाले पहिलो डोज भेरोसेल खोप लगाए । ३७ हजार ४ सय ८२ जनाले दोस्रो लगाए । चार हजार ५ सय ६ जनाले दोस्रो डोज लगाएनन् । शुरुमा ६२ देखि ६२ वर्षका लागि ८ हजार ६ सय ५५ डोज भेरोसेल आएको थियो । त्यसमा ८ हजार ५ सय ३८ जनाले खोप लगाए । एक सय १७ जना दोस्रो खोप लगाउन आएनन् । अर्को पटक ५५ वर्षमाथिका लागि ३३ हजार ३ सय ३३ डोज खोप आयो । यसमा दोस्रो डोज लगाउने २८ हजार ९ सय ४४ जना भए । चार हजार ३ सय ८९ जना दोस्रो खोप लगाउन आएनन् ।
जिल्लामा ३० हजार ६ सय ८५ जनाले जोन्सन खोप लगाएका छन् । एक डोजमात्रै लगाउने भएकाले यसलाई पूर्ण खोप भनिएको छ ।
पछिल्लो समयमा सरकारले १८ वर्षमाथिका अर्थात १२ कक्षाको परीक्षा दिने विद्यार्थीलाई एस्ट्राजेनिका खोप लगाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख शाहले पहिलो डोज लगाएको पाँच महिनापछि दोस्रो डोज आएकाले धेरै जना ड्रपआउन भएको हुन सक्ने बताउनुभयो । उहाँले यहाँ पहिलो डोज लगाएकाहरुले अन्यत्र गएर दोस्रो डोज लगाएको पनि हुन सक्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !