जुत्ताभित्र राखेर ल्याइन्छ सुन !

नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुन बरामद गरेपछि नेपालगञ्जमा खैलाबैला भएको छ ।
झापाका अमिरलगुन विश्वकर्मा र मोरङका बुद्धिमान खातीले जुत्ताभित्र राखेर ल्याएको सुनबारेमा प्रहरी र व्यापारीको भनाई बाँझिएको छ । प्रहरीले पुरै शंकास्पद भनिरहदा नेपाल सुनचाँदी व्यवसायी संघ, बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले उक्त सुनलाई बैधानिक दावी गरिरहेका छन् । बैधानिक थियो भने जुत्ताभित्र लुकाएर किन ल्याइयो ? यो गम्भीर प्रश्न खडा भएको छ । यसको उत्तर जसगढले दिन सकेका छैनन् ।
श्रीएयरको विमानबाट नेपालगञ्ज विमानस्थलमा ओर्लिएका विश्वकर्मा र खातीले चार किलो २१.४९ ग्राम सुन बोकेका थिए । ठूलो मात्रामा सुन बोकेर काठमाडौंबाट कोही आउँदैछन् भन्ने विशेष सूचना पाएको प्रहरीले केही दिनदेखि नै विमानस्थलमा निगरानी गरिरहेको थियो ।
बाँके प्रहरीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितिमा राती आठ बजे नै पत्रकार सम्मेलन गरेर सुन र पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिसकेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले आज शनिबार भएपनि विशेष अनुरोध गरेर राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा सुन र पक्राउ परेका व्यक्तिलाई बुझाइने बताउनुभयो ।
सुनचाँदी व्यवसायी संघ, बाँकेका अध्यक्ष जसगढले नेपालगञ्जका चार जना व्यापारीले सुन मगाएको दावी गर्नुभयो । ‘हामीसँग बिल सबै छ । प्रहरीले अनाहकमा अवैध भन्दै समातेको छ, जसगढले भन्नुभयो । अध्यक्ष जसगढ राती नै प्रहरी कार्यालयमा पुगेका थिए ।
पक्राउ परेका विश्वकर्मा र खातीले पनि नेपालगञ्जका व्यापारीलाई सुन ल्याइदिएको दावी गरेका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी न्यौपानले राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान गर्ने भएकाले हामीले धेरै सोधपुछ नगरेपनि सुन पुरै शंकास्पद रहेको बताउनुभयो ।
नेपालगञ्ज सीमावर्ती शहर हो । उच्च सुरक्षा अधिकारीहरु नै नेपालगञ्जबाट व्यापक सुन तस्करी भइरहेको भन्दै त्यसको पिछा गरिरहेका छन् । चाइनाबाट नेपाल भित्रिने सुन भारतमा पुग्ने गरेको अधिकारीहरु बताउँछन् । तथ्यांकलाई हेर्दा लागु औषधी र मानव बेचबिखनको प्रमुख प्रवेशद्वार नै देखिएको नेपालगञ्जलाई सुन तस्करीको पनि चलनचल्तीको बाटो भन्नेहरुलाई यो घटनाले केही बल पु¥याएको छ ।
प्रहरीका अनुसार, विश्वकर्माले लगाएको दाया÷बाया जुत्तामा दुई÷दुई विस्कुट र खातीले लगाएको दाया÷बाया जुत्ताको तलुवामा एक÷एक पिस विस्कुट गरी तीन किलो ९ सय ९४ ग्राम सुन र खातीले बोेकेको लेदरको कालो रंगको झोलामा तिलहरी एक थान, बाला एक थान, गणेश लकेट ५ थान गरी २७.४९ ग्राम बरामद भएको छ । यहीशैलीमा केही वर्षअघि सीमावर्ती भारतीय शहर रुपैडिहामा भारतीय प्रहरीले नेपालगञ्जबाट लगिएको पाँच किलो सुन बरामद गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !