चार किलो सुनसहित दुई जना पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार, काठमाडौंबाट श्रीएयरमा नेपालगञ्ज ओर्लिएका झापाका अमिर लगुन विश्वकर्मा र मोरङका बुद्धिमान खाती चार किलो २१.४९ ग्राम सुनसहित पक्राउ परेका हुन् । विश्वकर्माले लगाएको दाया-बाया जुत्तामा दुई-दुई विस्कुट र खातीले लगाएको दाया-बाया जुत्ताको तलुवामा एक-एक पिस विस्कुट गरी तीन किलो ९ सय ९४ ग्राम सुन र खातीले बोेकेको लेदरको कालो रंगको झोलामा तिलहरी एक थान, बाला एक थान, गणेश लकेट ५ थान गरी २७.४९ ग्राम बरामद भएको छ ।
प्रहरीले सुन काठमाडौंबाट नेपालगञ्ज हुँदै भारत लैजान थालेको आशंका गरेको छ । नेपाल सुन चाँदी व्यवसायी संघ, बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले उक्त सुन नेपालगञ्जका चार जना व्यवसायीको भएको जानकारी दिनु भएको छ ।
एसपी अधिकारीले विस्तृत अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा पठाउने बताउनुभयो ।