शिशुको दुवै हातमा ट्याग लागेपछि…

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कर्मचारीको ‘गल्ती’ले राती अबेरसम्म विवाद भएको छ ।
बुधबार दिउँसो जन्मिएको बच्चाको हातमा दुई जना आमाको ट्याग लागेपछि राती एक बजेसम्म विवाद भएको हो ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार, बाँके सिमलघारीका चन्द्रा विकले जन्माएको शिशुको दुवै हातमा ट्याग लागेपछि सामान्य विवाद भएको थियो । विकले बुधबार दिउँसो एक बजे ३.८ किलोको शिशु जन्माएकी थिइन् । शिशुको साँझ ५ बजे मृत्यु भयो । मृत्यु भएपछि अभिभावकले शव लिएर गए । शव दाहसंस्कार गर्ने बेलामा खोलेर हेर्दा हातमा गीता थारु लेखेको ट्याग देखे । त्यसपछि आफन्तीहरु सबै अस्पतालमा आए । विवाद शुरु भयो । बच्चाको दाहिने हातमा गीता थारु लेखिएको थियो भने बाया हातमा चन्द्रा विक । चन्द्रा विक लेखेका घोप्टाएर लगाइएकाले राम्ररी देखिएको थिएन ।
आक्रोशित आफन्ती अस्पतालमा आएर बच्चा जन्मिदाको तौल नापे । तौल मिल्यो । अरु बच्चाको हातमा लागेको ट्याग हेरे । आफ्नो नाम लेखेको देखेनन् । गीताले दश दिन अघि बच्चा जन्माएकी थिइन् । त्यसपछि अस्पतालको कर्मचारीले ट्याग लगाउदा गल्ती गरेको बुझाइ रह्यो । शवलाई अस्पतालमा छोडेर अभिभावक घर गए ।
मेसु डा. थापाले ट्याग लगाउदा गल्ती भएको स्वीकार्नु भयो । ‘शिशुलाई ट्याग लगाउदा गल्ती भएको हो । उहाँहरुको भनाई पनि ठिकै हो । उहाँहरु आउनु भयो । सबै देखाएपछि कन्भिन्स भएर जानु भयो । आज आएर शिशुको शव लैजानु होला, मेसु डा. थापाले भन्नुभयो, शिशु जन्मिएपछि उसको हातमा आमाको नाम लेखेको ट्याग लगाउने गरिन्छ ।’


error: यो सुविधा उपलब्ध छैन !