सबै वडामा बेचबिखनविरुद्धको समिति गठन गरिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले भदौ महिनाभित्रै सबै वडामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन गर्ने भएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार नेपालगञ्जमा आयोजना गरेको मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रममा उपमेयर उमा थापामगरले भदौ महिनाभित्रै नगरका सबै वडामा वडास्तरीय समिति गठन गरिसक्ने बताउनुभयो । ‘१६ वटा वडामा समिति बनाइसकेका छौं । अरुमा गठनको प्रक्रिया चलिरहेको छ, उपमेयर थापाले भन्नुभयो, भदौ महिनाभित्रै सबै वडामा समिति गठन गरिसक्छौं ।’
नेपालगञ्ज उपमहानगरपालिकाले मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी कार्यविधि बनाइसकेको छ । नेपालगञ्ज भारत प्रवेशका लागि गेटवे भएकाले यहाँ सधैं जोखिम हुने गर्दछ । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका मात्रै नभएर देशभरकै जोखिमपूर्ण यात्रामा रहेका व्यक्तिको ख्याल गर्नुपर्दछ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले रोकथामलाई विशेष फोकस गर्नुपर्ने बताउनुभयो ।
बाँकेका प्रहरी प्रमख एसपी श्यामकृष्ण अधिकारीले प्रेम विवाह गरेका व्यक्तिका अभिभावकले बेचबिखनमा मुद्दा लिएर आउने गरेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य मन्जु नेपाली, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, प्रमुख महिला विकास अधिकृत शोभा शाह, अधिवक्ता लोकबहादुर शाह, विकास आचार्य, बसन्त गौतम, अधिकारकर्मी प्रकाश उपाध्याय, माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइराला, साथी संस्थाका लता श्रेष्ठ, हाम्रो सम्मान परियोजनाका कमला पन्त, किशोरी सञ्जालका निशा गिरीले मानव बेचबिखनविरुद्ध सचेतना बढाउनु पर्ने, रोकथामलाई प्राथमिकता दिनु पर्ने, बेचबिखनका मुख्य व्यक्ति पक्राउ नपरेको, मुद्दामा होस्टाइल हुने गरेको, सोसल मिडियाको दुरुपयोग भएको बताएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !