मानव बेचबिखन : ‘कार्यविधि’ नहुँदा उद्धार र फिर्तीमा समस्या
नेपालगञ्ज – वि.सं. २०७३ सालमा नुवाकोटकी १८ वर्षीया किशोरी बेपत्ता भइन् । एक वर्षपछि उनको भारतको एक कोठीबाट उद्धार भयो । ठूलो मेहनत गरेर भारतीय अधिकारीलाई ‘विश्वस्त’ तुल्याएपछि कोठीमा छापा मारिएको थियो ।
उद्धार गरेपछि किशोरीलाई भारतकै एक ‘सेल्टर’मा राखियो । नेपाल ल्याउने प्रक्रियाहरु चलिरहेकै बेला वि.सं. २०७५ मा किशोरी रहस्यमय तरिकाले हराइन् ।
भारतीय अधिकारीलाई ‘गुहार’ मागेर एक वर्षपछि फेरि कोठीमा छापा मारियो । सेल्टरबाट हराएकी किशोरी त्यही फेला परिन् । उनको दोस्रो पटक उद्धार गरियो ।
बडो मुश्किलले उद्धार गरेर सेल्टरमा राखिएकी किशोरी फेरि कोठीमै पुगेकी रहिछन् । यस्तो कसरी भयो ? शक्ति समूहका कानून तथा तालिम संयोजक दिलिप कोइरालाले कोठी र सेल्टर सञ्चालकको मिलोमतोले उद्धार गरिएकी किशोरीलाई पुनः कोठीमा पु¥याइएको बताउनुभयो ।
अधिवक्ता कोइरालका अनुसार, किशोरीलाई उद्धार गर्न मुश्किल थियो । त्यो काम गरियो । राख्ने ठाउँ भएन । नेपाली दुताबाससँग राख्ने ठाउँ भएको भए उनी भाग्न या भगाउन पाउँदैनथिन् । भारतीय सेल्टरमा राख्दा चलखेल भयो । भारतमा रहेका बेचबिखत पीडित तथा प्रभावितहरुको उद्धार तथा फिर्तीका लागि कार्यविधि भएको भए यस्तो समस्या नै आउँदैनथ्यो ।
मानव बेचबिखनबाट पीडित÷प्रभावितको उद्धार तथा फिर्तीका लागि कार्यविधि बनाउन सम्बद्धहरुले एक दशकदेखि प्रयास गरिरहेका छन् । कार्यविधिका लागि तीन÷चार वटा ड्राफ्ट बनाइसकिएको छ । कार्यविधिले अहिलेसम्म पूर्णता पाएको छैन । अधिकारीहरुसँग मिलेर संघ संस्थाले बनाएर दिएको ड्राफ्ट महिला तथा बालबालिका मन्त्रालयसम्म पुगेर थन्किने गरेको छ । अझ मन्त्रालयका कर्मचारी परिवर्तन हुँदा ड्राफ्ट हराउने समस्या रहेको छ ।
शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले दशकदेखि नै कार्यविधि बनाउन लागि परेपनि अहिलेसम्म नबनेको बताउनुभयो । उहाँले कार्यविधि नहुँदा बेचबिखन पीडितको उद्धार र फिर्तीमा ठूलो समस्या भइरहेको बताउनुभयो ।
महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) र शक्ति समूहले मंगलबार नेपालगञ्जमा कार्यविधिका लागि सुझाव संकलन गरेका छन् । एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले कार्यविधि बनाएर बेचबिखनको उद्धार तथा फिर्तीमा राज्यले जिम्मेवारी लिनु पर्ने बताउनुभयो ।
अहिलेसम्म भारतका कोठीबाट संघ संस्थाले नेपाली दुताबास र भारतीय प्रहरीको सहयोग लिएर उद्धार गरिरहेका छन् । यसमा संघ संस्थाका प्रतिनिधिले ठूलो जोखिम मोल्ने गर्दछन् । कोठी सञ्चालकले तिघ्रेहरु पाल्ने भएकाले उद्धारका लागि जाने नेपाली प्रतिनिधिलाई उनीहरुबाट जोखिम हुने गर्दछ । त्यसका बाबजुद कोठीबाट उद्धार भइरहेका छन् । नेपाल र भारतका बीचमा समझदारी भएर उद्धार र फिर्ती हुने पर्ने माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाको भनाई छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत शोभा शाह, एटविनका अध्यक्ष नातीसरा राई, महासचिव बालकुमारी दर्लामी, हाम्रो सम्मान परियोजनाकी कमला पन्तले कार्यविधि नहुँदाका चुनौती र कार्यविधिलाई पूर्णता दिने सवालमा मन्तब्य राख्नु भएको थियो ।