खजुराको प्राथमिकतामा सामाजिक जवाफदेहिता

नेपालगञ्ज – खजुरा गाउँपालिकाले सामाजिक जवाफदेहितालाई प्राथमिकतामा राखेको जनाएको छ । सामाजिक जवाफदेहिताका औजारलाई प्रयोग गर्दै सेवा प्रवाह गरिरहेको पालिकाकोले जनाएको हो ।
खजुरामा मंगलबार आयोजित बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको बैठकमा पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले सो कुरा बताएका हुन् ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सुशासन र पारदर्शिताको औजारलाई प्रयोग गर्दै अगाडि बढेको बताउनु भयो । उहाँले सबै स्वास्थ्य शाखाहरुको सामाजिक परीक्षण, खजुरामा सार्वजनिक सुनुवाईलाई निरन्तर सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।
उपप्रमुख एकमाया विकले स्थानीय सरकारको दायित्व नै जवाफदेहिता भएको बताउनुभयो । जनप्रतिनिधि मात्र नभई स्थायी सरकारको रूपमा रहेका कर्मचारी जिम्मेवारी र जवाफदेही हुनु पर्ने बताउँदै उहाँले सरकारले नीति, ऐन कार्यक्रम बनाउने र कार्यान्वयन कर्मचारीले गर्ने कुरामा जोड दिनुभयो । विषयगत ६ वटा समिति बनाइएको सबै शाखाहरुबाट पनि कामहरु भइरहेकोमा तुलनात्मक रूपमा खजुरा उत्कृष्ट रहेको उपाध्यक्ष विकले दावी गर्नुभयो ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले योजनामा सहभागिताको कुरा, जनगुनासो व्यवस्थापन गर्ने, बजेट नीति कार्यक्रम वेबसाईटमा राख्ने गरेको, सार्वजनिक सुनुवाई गर्दै आएको र आएका गुनासाको सम्बोधन गर्ने गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष तिलकबीर सुनार, सामाजिक विकास संयोजक फत्तेकुमारी जैसी, योजना प्रमुख दिलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडललगायतले सामाजिक जवाफदेहिता, सुशासनका कुरालाई औजारका रुपमा कार्यान्वयनमा लिँदै आएकोमा जोड दिनुभयो । प्याक्ट नेपालको सहजीकरण र खजुरा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्याक्ट नेपालका प्राविधिक दुर्लभ कुमार बोगटीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहजीकरण गरेका थिए । कार्यक्रममा प्याक्ट नेपालका प्रोग्राम म्यानेजर अस्मिन भट्टराईले सामाजिक जवाफदेहितामा नागरिकको गुनासो महत्वपूर्ण हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !