शमशेरगञ्जमा आर्यघाट र गौशाला बन्दै
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाले वडा नं. २, शमशेरगञ्जमा व्यवस्थित आर्यघाट र गौशाला बनाउन थालेको छ ।
गाउँपालिकाले आर्यघाट र गौशाला निर्माणका लागि मास्टर प्लान गराइसकेको छ । अहिलेसम्म राप्तीसोनारीको अगैयामा शव व्यवस्थापन हुँदै आएको छ । अगैया पर्यटकीय स्थल भएको र निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले शमशेरगञ्जमा व्यवस्थित आर्यघाट गराउन थालिएको हो । यस विषयमा शनिबार बृहत छलफल भएको छ ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर वली, २ नम्बरका अध्यक्ष मदनकुमार वली, वडा नं. ८ का अध्यक्ष खुमबहादुर बस्नेतसहित सुरक्षा निकायका अधिकारीले छलफल गरेका हुन् ।
जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले गाउँपालिकाले शमशेरगञ्जमा बनाउन थालेको आर्यघाट र गौशालालाई पूर्णता दिने विषयमा छलफल भएको बताउनुभयो । ‘अर्थको कुरा पनि आएको छ । मैले जिल्ला सभामा यो विषय उठाउने प्रतिबद्धता जनाएको छु, संयोजक श्रीवास्तवले भन्नुभयो, संघ र प्रदेशबाट समेत पहल गर्ने कुरा भएको छ ।’
जिल्लाका आठमध्ये ६ वटा पालिकालाई पायक गर्ने भएकाले शमशेरगञ्जमा व्यवस्थित आर्यघाट गराउन थालेको अध्यक्ष लाहुराम थारुले बताउनुभयो । गाउँपालिकाको मास्टर प्लानमा गौशाला पनि परेको छ । अहिले पनि त्यहाँ केही भवन बनिसकेको छ भने गाई राखिएको छ ।